२० भाद्र २०८३, शनिबार

स्पेनमा गीली र फोर्डबीच सहकार्य, चिनियाँ वाहन उद्योगको उपस्थिति विस्तार

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ वाहन निर्माता गीली अटो र अमेरिकी वाहन निर्माता फोर्डले स्पेनमा बहुऊर्जा तथा न्यून उत्सर्जनयुक्त सवारी उत्पादनका लागि नयाँ सहकार्य सम्झौता गरेका छन्।

स्पेनको भ्यालेन्सिया शहरस्थित फोर्डको अल्मुसाफेस कारखानामा बिहीबार आयोजित कार्यक्रममा सम्झौता घोषणा गरिएको हो। कार्यक्रममा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज, मन्त्रीपरिषदका वरिष्ठ सदस्य, दुवै कम्पनीका अधिकारी, कर्मचारी तथा श्रमिक संगठनका प्रतिनिधि सहभागी थिए।

सम्झौताअनुसार फोर्डको ६६ प्रतिशत र गीली अटोको ३४ प्रतिशत स्वामित्व रहने गरी युरोप केन्द्रित संयुक्त उत्पादन कम्पनी स्थापना गर्ने योजना छ। आवश्यक नियामकीय स्वीकृतिपछि संयुक्त उद्यमले सन् २०२७ को पहिलो छ महिनामा काम शुरु गर्ने र सन् २०२८ देखि नयाँ वाहन उत्पादन गर्ने लक्ष्य राखेको छ।

अल्मुसाफेस कारखानामा फोर्डको कूगा उत्पादनलाई निरन्तरता दिइनेछ। सन् २०२८ देखि फोर्डको नयाँ ब्रोन्को एसयूभी, दुवै कम्पनीले संयुक्त रूपमा विकास गर्ने बहुऊर्जा क्रसओभर तथा गीलीका दुई विद्युत एसयूभी उत्पादन गर्ने योजना छ।

प्रधानमन्त्री सान्चेजले गीलीसँग प्राविधिक प्लेटफर्म, विद्युतीकरण क्षमता, तीव्र उत्पादन विकास र अन्तर्राष्ट्रिय बजार अनुभव रहेको तथा फोर्डसँग युरोपेली बजारको ज्ञान, औद्योगिक क्षमता र स्थापित ब्रान्ड रहेको बताए।

“प्रतिस्पर्धा गर्न र नेतृत्व लिन रणनीतिक गठबन्धन आवश्यक छ,” उनले भने। विद्युतीकरण, डिजिटलीकरण र विश्वव्यापी प्रतिस्पर्धाले वाहन उद्योगमा ठूलो परिवर्तन ल्याइरहेको उनको भनाइ थियो।

फोर्डले संयुक्त उद्यमबाट अल्मुसाफेस कारखानाको उत्पादन क्षमता प्रभावकारी रूपमा उपयोग हुने, प्रतिएकाइ उत्पादन लागत घट्ने र भ्यालेन्सियाको स्थानीय अर्थतन्त्र तथा रोजगारीलाई दीर्घकालीन आधार प्राप्त हुने जनाएको छ।

भ्यालेन्सिया क्षेत्रीय सरकारका अध्यक्ष खुआन फ्रान्सिस्को पेरेज योर्काले सम्झौताले कारखानामा कार्यरत करिब चार हजार कर्मचारी र आपूर्ति श्रृंखलासँग जोडिएका १५ हजारभन्दा बढी अप्रत्यक्ष रोजगारीको भविष्य थप सुनिश्चित गर्ने बताए।

स्पेनमा पछिल्ला वर्षमा चिनियाँ वाहनको बिक्री उल्लेखनीय रूपमा बढेको छ। उद्योगसम्बन्धी तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो छ महिनामा चिनियाँ ब्रान्डका ७५ हजार २४ यात्रुवाहक सवारी दर्ता भएका छन्।

यो स्पेनको कुल यात्रुवाहक वाहन बजारको १२.३ प्रतिशत हो। चिनियाँ ब्रान्डको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.९ प्रतिशतले बढेको छ।

एमजी, बीवाईडी तथा ओमोडा एण्ड जेकोले अधिकांश बिक्री हिस्सा ओगटेका छन्। गीली र चाङ्गानलगायत अन्य चिनियाँ कम्पनीले पनि स्पेनी बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्।

स्पेनी वाहन मञ्च कोचेस डट नेट र वाहन वितरकहरूको संस्था गानभामले सार्वजनिक गरेको सर्वेक्षणमा प्रत्येक १० मध्ये सात स्पेनी उपभोक्ताले चिनियाँ ब्रान्डका सवारीप्रति सकारात्मक धारणा राखेको र खरिदबारे विचार गर्न सक्ने बताएका थिए।

बिक्री विस्तारसँगै चिनियाँ कम्पनीहरू निर्यातमा मात्र सीमित नरही स्पेनमै उत्पादन, ब्याट्री निर्माण, स्वचालित यातायात र ऊर्जा भण्डारण क्षेत्रमा प्रवेश गरिरहेका छन्।

चिनियाँ कम्पनी चेरीले स्पेनी निर्माता एब्रोसँगको सहकार्यमा बार्सिलोनास्थित निसानको पूर्वकारखानामा सवारी उत्पादन पुनः शुरु गरेको छ। पाँच मोडेलसम्म उत्पादन गर्न सक्ने नयाँ एसेम्बली लाइन जडान गरिएको उक्त कारखानाले सन् २०२६ को अन्त्यसम्म वार्षिक ५० हजार सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ।

चिनियाँ ब्याट्री निर्माता सीएटीएल र वाहन निर्माता स्टेलान्टिसले सारागोसामा लिथियम आइरन फस्फेट ब्याट्री कारखानामा संयुक्त लगानी गरिरहेका छन्। यसले स्पेनको विद्युत सवारी आपूर्ति श्रृंखलाका लागि आवश्यक ब्याट्री उत्पादन क्षमता बढाउने अपेक्षा गरिएको छ।

चिनियाँ स्वचालित सवारी प्रविधि कम्पनी वीराइडले जुनमा म्याड्रिडमा स्पेनको पहिलो व्यावसायिक रोबोट्याक्सी परीक्षण शुरु गर्ने घोषणा गरेको थियो। यो युरोपमा कम्पनीको पहिलो यस्तो परियोजना हुनेछ।

ऊर्जा भण्डारण कम्पनी हिथियमले नाभारामा उत्पादन परियोजना अघि बढाइरहेको छ। कम्पनीले स्थानीय साझेदारसँग इञ्जिनियरिङ, ढुवानी, आपूर्ति श्रृंखला विकास तथा जनशक्ति प्रशिक्षणमा सहकार्य गर्ने योजना सार्वजनिक गरेको छ।

बार्सिलोना बन्दरगाह पनि चीनबाट स्पेन तथा अन्य युरोपेली बजारमा प्रवेश गर्ने सवारीको प्रमुख आयात र वितरण केन्द्र बन्दै गएको छ।

स्पेनको लगानी प्रवर्धन संस्था आईसीईएक्स इन्भेस्ट इन स्पेनका अनुसार देशमा कार्यरत ९७ प्रतिशत चिनियाँ कम्पनीले आफ्नो लगानी कायम राख्ने वा थप विस्तार गर्ने अपेक्षा गरेका छन्। यसमा नयाँ ऊर्जा, ब्याट्री र वाहन उद्योगसँग सम्बन्धित कम्पनीको उल्लेखनीय सहभागिता छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button