नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा विज्ञान, शिक्षा र प्रविधि सहकार्यमा जोड

ड्रागन मिडिया समाचार कक्ष
काठमाडौंस्थित रुसी सदनमा नेपाल र रुसी महासंघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा “नेपाल–रुस मैत्रीको स्मरण” विषयक कार्यक्रम आयोजना गरिएको छ।
नेपाल रुस विज्ञान तथा प्रविधि समाज र रुसी सदनको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा दुई देशबीच विज्ञान, प्रविधि, उच्च शिक्षा, नवप्रवर्तन र आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै काठमाडौंस्थित रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभाले नेपाल र रुसबीचको सम्बन्ध कूटनीतिक सम्पर्कमा मात्र सीमित नरही विज्ञान, शिक्षा र नवप्रवर्तन क्षेत्रमा सुदृढ साझेदारीका रूपमा विकास भएको बताइन्।
उनले रुसी महासंघले उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रममार्फत नेपाली विद्यार्थीका धेरै पुस्ताले रुसमा उच्च शिक्षा हासिल गर्ने अवसर पाएको उल्लेख गरिन्। यसबाट नेपालमा दक्ष जनशक्ति विकास, प्राविधिक ज्ञान हस्तान्तरण र दुई देशबीच वैज्ञानिक सहकार्य विस्तार गर्न सहयोग पुगेको उनको भनाइ थियो।
निर्देशक खोख्लोभाले शैक्षिक तथा वैज्ञानिक आदानप्रदान प्रवर्द्धनमा नेपाल रुस विज्ञान तथा प्रविधि समाजले लामो समयदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रमेशकुमार मास्केले मुख्य मन्तव्य दिएका थिए। उनले नेपाल र रुसबीचको ऐतिहासिक सहकार्यको समीक्षा गर्दै विज्ञान, प्रविधि, इञ्जिनियरिङ शिक्षा र उच्च शिक्षाका क्षेत्रमा सहकार्य विस्तारका नयाँ सम्भावना रहेको बताए।
कार्यक्रमको प्रमुख आकर्षण “द्विपक्षीय सेतु निर्माणः प्रविधि, शिक्षा र आर्थिक समन्वय” विषयक प्यानल छलफल थियो। पूर्ववातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहको अध्यक्षतामा भएको छलफल संस्कृता खनालले सञ्चालन गरेकी थिइन्।
प्यानलमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागकी प्राध्यापक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अञ्जना सिंहले वैज्ञानिक अनुसन्धान र विश्वविद्यालयस्तरीय सहकार्यका सम्भावनाबारे धारणा राखिन्।
डा. मास्केले इञ्जिनियरिङ शिक्षा, संयुक्त शैक्षिक कार्यक्रम र अनुसन्धान साझेदारी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। नेपाल बायोटेक्नोलोजी सोसाइटीका अध्यक्ष नवीननारायण मुनंकर्मीले जैविक प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा नेपाल र रुसबीच सहकार्यका अवसरबारे चर्चा गरे।
रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष इञ्जिनियर विकास गुरुङले रोबोटिक्स, स्वचालन, कृत्रिम बुद्धिमत्ता र उदाउँदा प्रविधिमा सहकार्य विस्तार गर्न सकिने बताए।
प्यानल छलफलपछि सहभागीहरूले विज्ञान तथा प्रविधि, शैक्षिक आदानप्रदान, छात्रवृत्ति, संयुक्त अनुसन्धान र आर्थिक सहकार्यका विषयमा अन्तरक्रिया गरेका थिए।
कार्यक्रममा प्राध्यापक डा. जीवराज पोखरेलले विशेष मन्तव्य दिँदै वैज्ञानिक कूटनीति र ज्ञानमा आधारित सहकार्यले नेपाल–रुस सम्बन्धलाई थप व्यावहारिक तथा परिणाममुखी बनाउन सक्ने बताए।
समापन मन्तव्य दिँदै पूर्वमन्त्री गणेश शाहले आगामी वर्षहरूमा विज्ञान, प्रविधि, शिक्षा तथा जनस्तरीय आदानप्रदानका माध्यमबाट नेपाल र रुसबीचको सम्बन्ध थप सुदृढ बनाउने साझा प्रतिबद्धता रहेको बताए।
कार्यक्रमको अन्त्यमा सहभागी तथा वक्ताहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो। त्यसपछि सामूहिक तस्बिर खिचेर कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।





