१९ भाद्र २०८३, शुक्रबार

मन्त्री रावल र चिनियाँ राजदूत चाङबीच विकास सहयोग र डिजिटल भूमि प्रशासनबारे छलफल

ड्रागन मिडिया समाचार कक्ष

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सहयोग, विकास परियोजना, स्वास्थ्य पूर्वाधार तथा भूमि प्रशासनको डिजिटल रूपान्तरणलगायत विषयमा छलफल भएको मन्त्री रावलको सचिवालयले जनाएको छ।

भेटमा विशेषगरी चीनको सिजाङ स्वायत्त क्षेत्रीय सरकारको सहयोगमा सञ्चालित ‘प्रोजेक्ट एड टु नेपाल’, निजामती सेवा अस्पतालको स्तरोन्नति तथा अस्पतालमा क्यान्सर उपचारका लागि कार टी सेल प्रयोगशाला स्थापना गर्ने विषयमा विमर्श भएको थियो।

यसैगरी, भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउने, सेवाप्रवाहलाई सरल र प्रभावकारी बनाउने तथा सुशासन प्रवर्द्धनमा दुई देशबीच हुन सक्ने सहयोगका क्षेत्रबारे पनि छलफल भएको सचिवालयले जनाएको छ।

राजदूत चाङले सेवाप्रवाह सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण र सुशासन प्रवर्द्धनका क्षेत्रमा मन्त्रालयले अघि सारेका पहल प्रभावकारी रहेको बताएका थिए।

भेटमा नेपाल र चीनबीचका विकास सहयोगका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तथा आपसी समन्वयलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button