रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित गम्भीर घाइते

ड्रागन मिडिया समाचार कक्ष
रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनुदेवी जयसवालमाथि बिहान करिब १०ः३० बजे खुकुरी प्रहार भएको थियो। गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही स्थायी घर भई हाल हरिहरपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारमाथि घटनामा संलग्न रहेको आरोप छ।
घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको डीएसपी गौतमले जानकारी दिएका छन्।
घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनाको कारण र परिस्थितिबारे औपचारिक निष्कर्ष सार्वजनिक गरेको छैन। घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ तथा उपलब्ध प्रमाणको परीक्षण भइरहेको जनाइएको छ।





