२० भाद्र २०८३, शनिबार

काठमाडौंमा पक्राउ परेका ४७ विदेशी महिला देश निकाला, १० जनामाथि अनुसन्धान जारी

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्रमा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा पक्राउ परेका ४७ विदेशी महिलालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा ५७ विदेशी महिलालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये ४७ जनालाई अध्यागमन विभागसँगको समन्वयमा सम्बन्धित देश पठाइएको छ भने बाँकी १० जनामाथि अनुसन्धान जारी छ।

देश निकाला गरिएका महिलाहरू युगान्डा, भियतनाम, थाइल्याण्ड, बंगलादेश, केन्या र इन्डोनेसियाका नागरिक रहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा तथा व्यवसायीबाट प्राप्त गुनासोका आधारमा विशेष अभियान सञ्चालन गरिएको एसपी भट्टराईले बताए। विदेशी महिलाहरू सस्तो जीवनयापन र रात्रिकालीन गतिविधिको अवसर रहेको सोचसहित नेपाल आएको देखिएको प्रहरीको प्रारम्भिक मूल्याङ्कन छ।

प्रहरीले पक्राउ र देश निकालाको कानुनी आधार, सम्बन्धित व्यक्तिको राष्ट्रियताअनुसारको संख्या तथा उनीहरूमाथि लागेको आरोपको पृथक विवरण भने सार्वजनिक गरेको छैन।

पत्रकार सम्मेलनमा एसपी भट्टराईले अनलाइन बेटिङ सञ्चालन गरी नेपाली नागरिकको रकम हुण्डी र अभौतिक मुद्रामार्फत विदेश पठाउने संगठित समूह सक्रिय रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको पनि जानकारी दिए।

त्यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहको पहिचान, वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

यसैगरी, सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई दुःख दिने र सेवा प्रवाहमा अवरोध पुर्‍याउने बिचौलियाविरुद्ध सञ्चालित अभियानमा ३०९ जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ।

पक्राउ परेकामध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए। प्रहरीले बिचौलियामुक्त सार्वजनिक सेवा प्रवाहको वातावरण निर्माण गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button