साहित्य र मनोविज्ञानको संयोजनसहित नीर शाहको ‘कमला मिस’ साउन २२ मा

ड्रागन मिडिया समाचार कक्ष
वरिष्ठ चलचित्रकर्मी नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्किएको मनोवैज्ञानिक कथावस्तुको चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
नेपाली साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित चलचित्रले परिवार, मनोविज्ञान, मातृत्व, प्रेम, त्याग र मानिसको आन्तरिक द्वन्द्वलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा बासना तिमिल्सिनालाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ। नीर शाह, रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्णमुरारी ढुङ्गेल, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारको पनि अभिनय छ।
‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतो बाघ’जस्ता चलचित्र निर्देशन गरेका शाहको पुनरागमनका कारण ‘कमला मिस’प्रति चलचित्र क्षेत्र र दर्शकको चासो बढेको छ।
चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार गरेका छन्। विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले चलचित्र निर्माण गरेकी हुन्।
चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, युग भुसालको सङ्गीत, मिलनविक्रम शाहको सम्पादन र रामजी लामिछानेको नृत्य निर्देशन छ।
प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रमा समावेश प्रेमगीत ‘तिमी मेरो सञ्जीवनी’ पनि सार्वजनिक गरिएको छ। गीतमार्फत चलचित्रका पात्रबीचको भावनात्मक सम्बन्ध प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
साहित्यिक कृतिलाई चलचित्रमा रूपान्तरण गर्दा मूल रचनाको वैचारिक गहिराइ, पात्रको मनोविज्ञान र चलचित्रको दृश्य भाषाबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण हुन्छ। ‘कमला मिस’ले त्यो चुनौतीलाई कति प्रभावकारी रूपमा सम्बोधन गरेको छ भन्ने मूल्याङ्कन भने प्रदर्शनपछि दर्शक र समीक्षकको प्रतिक्रियाबाट हुनेछ।





