देश अझै जागिरहेको छ

# प्रेम सागर पौडेल
सिंहदरबारका झ्यालमा
नयाँ समीकरण मस्त निन्द्रामा छ,
तर गाउँको अँध्यारोमा
पुरानै प्रश्न निदाउन सक्दैन।
मतपत्रको मसी नसुक्दै
प्रतिबद्धताहरूको रङ फेरिन्छ,
संसदमा अंकगणितले जित्छ,
सडकमा नागरिक हारिरहन्छ।
सत्ताका कुर्सीहरू
देशभन्दा छिटो घुम्छन्,
मन्त्रीका नाम बदलिन्छन्,
तर बेरोजगार युवाको हातमा
उही पुरानो राहदानी रहन्छ।
न्यायालयमाथि छायाँ नपरोस्,
प्रश्न सोध्ने आवाज नथुनियोस्,
लोकतन्त्र केवल चुनाव होइन,
शासकलाई सम्झाइरहने
नागरिकको अखण्ड अधिकार हो।
हामीलाई पश्चिम वा दक्षिणको
छायाँ बनेर बाँच्नु छैन,
हामीलाई आफ्नै उचाइमा उभिएर
सबै दिशासँग हात मिलाउनु छ।
यो देश कुनै दलको निजी नक्सा होइन,
न कुनै नेताको अधुरो जीवनी।
यो किसानको पसिना,
श्रमिकको घाउ,
विद्यार्थीको सपना
र इतिहासले जोगाएको स्वाभिमान हो।
सत्ता फेरिनु राजनीति हुन सक्छ,
तर चरित्र फेरिनु परिवर्तन हो।
र देश अझै जागिरहेको छ,
किनकि जनताले
आशा त्यागेका छैनन्,
केवल हिसाब माग्न
शुरु गरेका छन्।
२०८३ साउन ९ गते





