२० भाद्र २०८३, शनिबार

सांसदको स्वकीय सुविधा पुनर्बहालीविरुद्ध शनिबार माइतीघरमा जेनजी नागरिक अभियानको प्रदर्शन

ड्रागन मिडिया समाचार कक्ष

सरकारले संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा पुनर्बहाली गरेको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले शनिबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना तथा प्रदर्शन गर्ने भएको छ।

अभियानको केन्द्रीय समितिले शुक्रबार जारी गरेको प्रेस निमन्त्रणाअनुसार प्रदर्शन साउन ९ गते शनिबार बिहान १० बजेदेखि माइतीघर मण्डलामा आयोजना हुनेछ।

अभियानले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने सरकारको निर्णयले राज्यमाथि थप आर्थिक भार सिर्जना गरेको दावी गर्दै उक्त निर्णय जेनजी आन्दोलनको मर्म, भावना, मूल्यमान्यता र सुशासनको सिद्धान्तविपरीत रहेको जनाएको छ।

सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यलाई शाखा अधिकृतसरहको तलब तथा सुविधा पाउने गरी एक एक जना स्वकीय सचिव नियुक्त गर्न सक्ने व्यवस्था पुनः कायम गरेको हो। यसअघि जेनजी आन्दोलनपछि बनेको सरकारले सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यसहित उक्त सुविधा खारेज गरेको थियो।

राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदको स्वकीय सचिवसम्बन्धी निर्णय तत्काल खारेज गर्न माग गरेको छ। उक्त सुविधामा खर्च हुने रकम शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा लगानी गर्नुपर्ने अभियानको भनाइ छ।

सरकारले भने सांसदहरूले विधेयक अध्ययन, कानुन निर्माण, अनुसन्धान, संसदीय बहस तथा राजनीतिक जिम्मेवारी निर्वाह गर्न प्रशासनिक सहयोग आवश्यक रहेको भन्दै पुरानो व्यवस्था पुनर्बहाली गरिएको जनाएको छ।

अभियानले ब्यानर र पम्प्लेटसहित शान्तिपूर्ण रूपमा आयोजना गरिने धर्ना तथा प्रदर्शनमा सहभागी हुन सञ्चारमाध्यम, नागरिक समाज, सरोकारवाला संस्था र सर्वसाधारणलाई अनुरोध गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button