अनलाइन ठगी आरोपमा तीन भारतीयसहित चार जना हेटौँडाबाट पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिकसहित चार जनालाई हेटौँडाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र हेटौँडा उपमहानगरपालिका–१० स्थित बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको हो।
चारै जनाको मिलोमतोमा भारतीय नागरिकलगायत विभिन्न व्यक्तिलाई प्रलोभन देखाएर अनलाइनमार्फत ठगी भइरहेको सूचनाका आधारमा प्रहरीले बाँस्तोला होटलमा छापा मारेको जनाएको छ।
पक्राउ परेका व्यक्तिको साथबाट बरामद मोबाइल जाँच गर्दा ठगी प्रयोजनका लागि टेलिग्राम र ह्वाट्सएपलगायत एपमा समूह बनाइएको तथा ती समूहमार्फत रकमको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत हेटौँडाबाट अनलाइन ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।





