२० भाद्र २०८३, शनिबार

सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार, रास्वपाद्वारा भर्त्सना

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी दुर्व्यवहार गरिएको घटनाको भर्त्सना गरेको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा शनिबार जारी विज्ञप्तिमा साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा सांसद पौडेलमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

सांसद पौडेलमाथि गढीमाई नगरपालिका, वडा नम्बर ७, पर्सामा आयोजित कार्यक्रमबाट फर्किने क्रममा कालो मसी प्रहार भएको थियो।

रास्वपाले लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार र अपमानजनक व्यवहार स्वीकार्य हुन नसक्ने जनाएको छ।

“यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्छन्,” विज्ञप्तिमा भनिएको छ।

संसदीय दलले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न पनि रास्वपाले आग्रह गरेको छ।

दलले राजनीतिक असहमति र विरोधलाई शान्तिपूर्ण, मर्यादित तथा लोकतान्त्रिक माध्यमबाट व्यक्त गरिनुपर्नेमा जोड दिएको छ।

रास्वपा संसदीय दलले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास तथा सभ्य समाज निर्माणप्रति आफू सदैव प्रतिबद्ध रहने स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button