२० भाद्र २०८३, शनिबार

साढे सात लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

ड्रागन मिडिया समाचार कक्ष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई सात लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख र हैरानी दिँदै घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट टोली परिचालन गरिएको थियो।

आयोगको टोलीले मेकानिकल अधिकृत चौधरीले सेवाग्राहीबाट सात लाख ५० हजार रूपैयाँ बुझेर डिभिजन प्रमुख ढकालको सरकारी क्वार्टरमा पुर्‍याएको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

खानतलासीका क्रममा घुसबापत लिइएको भनिएको सात लाख ५० हजार रूपैयाँसँगै श्रोत खुल्न नसकेको थप ७१ हजार ११५ रूपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ। यसअनुसार उनीहरूबाट बरामद भएको कुल नगद आठ लाख २१ हजार ११५ रूपैयाँ पुगेको छ।

उनीहरूको साथबाट तीनवटा मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ।

आयोगले दुवै जनालाई नियन्त्रणमा लिएर घुस मागिएको भनिएको काम, रकमको लेनदेन, थप बरामद नगदको श्रोत र घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button