२० भाद्र २०८३, शनिबार

नेपाली सेना र पीएलएबीचको सम्बन्ध निरन्तर प्रगाढ बन्दै गएको छः प्रधानसेनापति सिग्देल

ड्रागन मिडिया समाचार कक्ष

प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेनाले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल र चीनबीचको सम्बन्ध विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

चिनियाँ जनमुक्ति सेना स्थापना भएको ९९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले शुक्रबार आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध सुदृढ रहेको तथा निरन्तर प्रगाढ बन्दै गएको बताए।

प्रधानसेनापति सिग्देलले दुई सेनाबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण तथा आदानप्रदानले द्विपक्षीय सैनिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरे।

उनले संयुक्त सैनिक अभ्यासले दुई सेनाबीचको आपसी विश्वास, समझदारी र व्यावहारिक सहकार्यलाई थप गहिरो बनाएको बताए।

आगामी दिनमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सहकार्य अझ विस्तार हुने तथा त्यसले नेपाल र चीनबीचको समग्र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान दिने विश्वास पनि उनले व्यक्त गरे।

समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विगत ९९ वर्षमा चिनियाँ जनमुक्ति सेनाले चीनको राष्ट्रिय स्वतन्त्रता, मुक्ति, सार्वभौमसत्ता, सुरक्षा र विकासका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै चिनियाँ जनमुक्ति सेनाको आधुनिकीकरण उल्लेखनीय रूपमा अघि बढेको उल्लेख गर्दै उनले आधुनिक पीएलएले विश्व शान्ति र स्थायित्वमा पनि सकारात्मक योगदान पुर्‍याउँदै आएको बताए।

राजदूत चाङले चीनले मानवीय सहायता, विपद उद्धार तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरे।

उनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रमध्ये चीन शान्ति सैनिक तथा प्रहरी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक रहेको र नेपाल पनि विश्वका प्रमुख शान्ति सैनिक योगदानकर्ता मुलुकमध्ये एक रहेको बताए।

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध दीर्घकालीन मित्रता, पारस्परिक सम्मान, समानता र एकअर्काको प्रमुख चासोप्रतिको सम्मानमा आधारित रहेको राजदूत चाङको भनाइ थियो।

उनले दुई देशबीचको व्यावहारिक सहयोग तथा मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरे।

समारोहमा चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल चौ जुनले नयाँ युगको आवश्यकताअनुसार चिनियाँ जनमुक्ति सेना निरन्तर आधुनिकीकरण हुँदै गएको बताए।

उनले पीएलए चीनको राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकाससम्बन्धी हितहरूको संरक्षण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

चीनले नेपालसँगको सैनिक सम्बन्धलाई उच्च महत्त्व दिएको बताउँदै उनले उच्चस्तरीय भ्रमण, संयुक्त सैनिक अभ्यास तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरे।

समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त अधिकारी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button