१९ भाद्र २०८३, शुक्रबार

इरानसँग वार्ता चाँडो पुनः सुरु गर्न चीनको आह्वान

ड्रागन मिडिया समाचार कक्ष

चोल्पोन-अता, किर्गिस्तान । चिनियाँ विदेशमन्त्री वाङ यीले मध्यपूर्व तथा खाडी क्षेत्रमा फेरि बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै वार्ता चाँडो पुनः सुरु गर्न र यसअघि भएको समझदारीपत्र कार्यान्वयनमा फर्कन आह्वान गरेका छन्।

वाङले शुक्रबार किर्गिस्तानको चोल्पोन-अतामा इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग भेटवार्ता गर्दै संवादबाट प्राप्त उपलब्धि त्याग्न नहुने बताएका हुन्। भेट शाङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको परिषद् बैठकका क्रममा भएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङले एक महिनाभन्दा अघि हस्ताक्षर भएको समझदारीपत्र विभिन्न पक्षको मध्यस्थता प्रयासबाट प्राप्त महत्त्वपूर्ण उपलब्धि भएको बताए।

उक्त समझदारीले इरानी जनता तथा क्षेत्रका अन्य जनताको शान्ति र स्थायित्वप्रतिको आकाङ्क्षा प्रतिबिम्बित गरेको उल्लेख गर्दै उनले संवादबाट हासिल भएको प्रगति गुम्न दिन नहुनेमा जोड दिए।

“एकपटक खुलेको वार्ताको ढोका बन्द गर्नु हुँदैन। शान्तिको आशा बाँकी रहेसम्म त्यसलाई त्याग्नु हुँदैन,” वाङले भने।

उनले तत्कालको प्राथमिकता संवाद र वार्तामार्फत मतभेद समाधान गर्नु तथा समझदारीपत्रमा कायम भएको सहमति कार्यान्वयन पुनः सुरु गर्नु रहेको बताए।

इरानको व्यापक रणनीतिक साझेदारका रूपमा चीनले इरानको सार्वभौमिकता, सुरक्षा र राष्ट्रिय गरिमाको रक्षा गर्ने प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने वाङको भनाइ थियो।

वाङका अनुसार चीनले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम तथा प्रवर्द्धन गर्न प्रस्तुत गरेको चारबुँदे प्रस्तावअनुसार आफ्नो भूमिका निरन्तर अघि बढाउनेछ।

उनले पाकिस्तानलगायत पक्षको मध्यस्थता प्रयासलाई समर्थन गर्ने, संवाद र वार्ता शीघ्र पुनः सुरु गराउन सहयोग गर्ने तथा स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित विषय उचित रूपमा समाधान गर्न प्रोत्साहन गर्ने बताए।

चीनले छिमेकी देशहरूबीचको सम्बन्ध सुधार, खाडी राष्ट्रहरूबीच सामूहिक सुरक्षा व्यवस्था प्रवर्द्धन तथा मध्यपूर्वमा यथाशीघ्र शान्ति र स्थायित्व पुनर्स्थापनाका लागि काम गर्ने पनि वाङले स्पष्ट पारे।

भेटमा इरानी विदेशमन्त्री अराघचीले मध्यपूर्व तथा खाडी क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै वार्ताप्रति इरानको इच्छा परिवर्तन नभएको र तेहरान द्वन्द्व निरन्तर रहोस् भन्ने पक्षमा नरहेको बताए।

उनले संयुक्त राज्य अमेरिकालाई आफ्ना प्रतिबद्धता पूरा गर्न, संयम अपनाउन, इरानसँग समान उद्देश्यतर्फ अघि बढ्न तथा समस्याको उचित समाधान खोज्न आग्रह गरे।

अराघचीले वर्तमान संवेदनशील अवस्थामा व्यापक रणनीतिक साझेदार इरान र चीनबीच सञ्चार तथा समन्वय अझ सुदृढ गर्नु आवश्यक रहेको बताए।

उनले चीनले निरन्तर वस्तुनिष्ठ र निष्पक्ष अडान राख्दै शान्ति तथा संवाद प्रवर्द्धन गरेकोमा धन्यवाद दिए। क्षेत्रीय तनाव कम गर्न चीनले महत्त्वपूर्ण भूमिका जारी राख्ने अपेक्षा पनि उनले व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button