१७ भाद्र २०८३, बुधबार

भाइरल बनेका रोल्पाका तीन बालिकाले स्नातकसम्म निःशुल्क पढ्न पाउने

ड्रागन मिडिया समाचार कक्ष

रोल्पा । वर्षाका बेला रेनकोट ओढेर विद्यालय जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि रोल्पाका तीन बालिकाले स्नातक तहसम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्।

रुन्टीगढी गाउँपालिका, वडा नम्बर ४, टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई उनीहरू अध्ययनरत विद्यालय र गाउँपालिकाले निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्।

तीन वर्षीया सियाँ नर्सरीमा, पाँच वर्षीया मनजीता एलकेजीमा र छ वर्षीया अर्की मनजीता कक्षा एकमा अध्ययनरत छन्। उनीहरू सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलमा पढ्छन्।

तीन बालिकामध्ये दुई जना एउटै परिवारका हुन् भने अर्की उनीहरूकी छिमेकी हुन्। उनीहरूका बुवा वैदेशिक रोजगारीमा रहेका छन्।

सम्बन्धित पक्षबीच भएको सहमतिअनुसार एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले तीनै बालिकालाई कक्षा ६ सम्म निःशुल्क अध्ययन गराउनेछ।

विद्यालयका प्रिन्सिपल तेजबहादुर पुनले बालिकाहरूलाई कक्षा ६ सम्म लाग्ने अध्ययन शुल्क विद्यालयले बेहोर्ने प्रतिवद्धता जनाएका छन्।

कक्षा ७ देखि स्नातक तहसम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी रुन्टीगढी गाउँपालिकाले लिने भएको छ।

गाउँपालिका अध्यक्ष जनक पुनले तीनै बालिकाको शिक्षालाई निरन्तरता दिन गाउँपालिकाले आवश्यक प्रबन्ध मिलाउने र स्नातक तहसम्मको अध्ययनको जिम्मेवारी लिने प्रतिवद्धता व्यक्त गरेका छन्।

समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा गाउँपालिका अध्यक्ष पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन र भाइरल भिडियो खिच्ने लोकेन पुनसहितको टोली बालिकाहरूको घर पुगेको थियो।

टोलीले बालिकाका आमाहरूसँग भेट गरी उनीहरूको अध्ययनलाई निरन्तरता दिने र निःशुल्क शिक्षाको व्यवस्था मिलाउने विषयमा सहमति गरेको बताइएको छ।

पानी परिरहेका बेला गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेर आफ्नै सुरमा उकालो बाटो हुँदै विद्यालयतर्फ गइरहेका बालिकाहरूको छोटो भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा रुचाइएको थियो।

स्थानीय लोकेन्द्र पुनले सुर्पालस्थित प्रतीक्षालयबाट खिचेको भिडियो विभिन्न सामाजिक सञ्जालमा लाखौँ पटक हेरिएको छ। भिडियो भाइरल भएसँगै बालिकाहरूको सहजता, सरलता र नियमित रूपमा विद्यालय जाने उत्साहको प्रशंसा भएको थियो।

सामाजिक सञ्जालमा प्राप्त चर्चाले दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, विद्यालयसम्मको पहुँच र उनीहरूको अध्ययन निरन्तरतामा स्थानीय सरकार तथा शैक्षिक संस्थाको भूमिकाबारे पनि ध्यानाकर्षण गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button