१७ भाद्र २०८३, बुधबार

गोगने खोलामा पहिरो, कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ड्रागन मिडिया समाचार कक्ष

कालीकोट । अविरल वर्षापछि कालीकोटको गोगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार प्रतिकूल मौसम र रातिको समयका कारण पहिरो पन्छाउने काम तत्काल शुरु गर्न कठिनाइ भएको छ।

मौसममा सुधार आएपछि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी सडकमा खसेको लेदो र पहिरो हटाउने काम शुरु गरिने प्रहरीले जनाएको छ।

राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि यस सडकखण्ड हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन रोकिएका छन्। प्रहरीले यात्रु र सवारी चालकलाई सडकको पछिल्लो अवस्थाबारे सम्बन्धित निकायसँग जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

वर्षायाममा राजमार्गका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खस्ने जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा प्रहरी, स्थानीय प्रशासन र सडक कार्यालयबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

मौसम अनुकूल हुनेबित्तिकै सम्बन्धित निकायसँग समन्वय गरी पहिरो पन्छाउने काम अघि बढाइने जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button