१७ भाद्र २०८३, बुधबार

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपेर चतुर्मास व्रत शुरु

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशीका अवसरमा शनिबार घरघरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजाआराधना शुरु गरिँदै छ।

ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन राखिएको तुलसीको दलबाट तयार भएको बिरुवा आज विधिपूर्वक तुलसीको मठमा सार्ने धार्मिक परम्परा छ। सनातन वैदिक परम्परामा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष पूजाआराधना गरिन्छ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ। यसै कारण आजको एकादशीलाई हरिशयनी वा देवशयनी एकादशी भनिन्छ। भगवान् विष्णु शयन गर्ने विश्वास गरिएको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईका अनुसार चतुर्मास अवधिमा व्रत, पूजाआराधना, जप, ध्यान, दान तथा सात्त्विक आहारलाई विशेष महत्त्व दिइन्छ।

एक वर्षमा सामान्यतया २४ वटा एकादशी पर्छन्। सबै एकादशीमा व्रत बस्न सक्ने श्रद्धालुले फलाहार गरेर व्रत बस्ने गर्छन्। सबै एकादशीमा व्रत बस्न नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्ने परम्परा छ।

दैनिक कामकाजका कारण नियमित व्रत बस्न नसक्ने श्रद्धालुले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने तथा रोटी, ढिँडो, फलफूल र अन्य फलाहार ग्रहण गर्ने धार्मिक प्रचलन छ।

हरिशयनी एकादशीका अवसरमा शनिबार बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठस्थित नारायण मन्दिर, उपत्यकाका चार नारायण तथा देशभरका नारायण र विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। श्रद्धालुहरू मन्दिर पुगेर भगवान् विष्णुको दर्शन, पूजाआराधना, भजनकीर्तन तथा दान गर्ने गर्छन्।

तुलसी दक्षिण एसियामा धार्मिक तथा परम्परागत औषधीय महत्त्व भएको सुगन्धित वनस्पति हो। आयुर्वेदलगायत परम्परागत उपचार पद्धतिमा यसको पात र अन्य भाग विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएको छ। हिन्दू धर्मावलम्बीले तुलसी भएको स्थानलाई पवित्र मान्दै घरको आँगनमा तुलसीको मठ स्थापना गर्ने गर्छन्।

चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुको दामोदर स्वरूपसँग विवाह गराउने वैदिक परम्परा छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि हवन गरी चतुर्मास व्रतको उद्यापन गरिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button