१९ भाद्र २०८३, शुक्रबार

नीट विवादबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

ड्रागन मिडिया समाचार कक्ष

भारतीय केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट–यूजी) को प्रश्नपत्र चुहावट विवाद र देशव्यापी युवा आन्दोलनबीच शनिबार पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा पत्र पठाएको सार्वजनिक गर्दै मुलुकका युवाको आकांक्षा, भावना र जायज अपेक्षाप्रति आफूले सम्मान गर्ने बताएका छन्। राजीनामाको खबर सार्वजनिक भएपछि नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शनकारीले उत्सव मनाएका छन्।

सन् २०२६ मे ३ मा सञ्चालन भएको नीट–यूजी परीक्षाको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि सरकारले परीक्षा रद्द गरी जुन २१ मा पुनः परीक्षा सञ्चालन गरेको थियो। विवादले करिब २० लाख परीक्षार्थी प्रभावित भएका थिए। केन्द्रीय अनुसन्धान ब्युरोले प्रश्नपत्र चुहावट र परीक्षामा भएको कथित अनियमितताबारे अनुसन्धान गरिरहेको छ।

विद्यार्थी र कक्रोच जनता पार्टी (सिजेपी) ले जुनदेखि शुरु गरेको आन्दोलन पछिल्ला छ दिनमा थप चर्किएको थियो। जन्तरमन्तरमा जारी प्रदर्शनसँगै पश्चिम बंगाल, तेलंगाना, कर्नाटक र तमिलनाडुसहित विभिन्न राज्यमा विद्यार्थी तथा युवा समूहले प्रदर्शन गरेका थिए।

यसअघि शुक्रबार सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह तथा सिजेपीका प्रवक्ता सौरभ दास र आशुतोष रांकाबीच नयाँ दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा करिब दुई घण्टा वार्ता भएको थियो। सिजेपीले प्रधानको राजीनामा, नीट विवादपछि ज्यान गुमाएका विद्यार्थीका परिवारलाई जनही एक करोड भारु क्षतिपूर्ति र प्रदर्शनकारीविरुद्ध कानुनी कारबाही नगर्ने प्रत्याभूति मुख्य मागका रूपमा राखेको थियो।

सरकारले क्षतिपूर्ति र प्रदर्शनकारीविरुद्ध कानुनी कारबाही नगर्ने मागमा सैद्धान्तिक सहमति जनाएको तथा प्रधानको राजीनामाबारे निर्णय गर्न शनिबारसम्मको समय मागेको सिजेपीले जनाएको थियो। त्यसको भोलिपल्ट प्रधानले राजीनामा दिएसँगै आन्दोलनकारीको प्रमुख माग पूरा भएको छ। बाँकी मागको कार्यान्वयनबारे भने सरकारको औपचारिक निर्णय आउन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button