प्रदेश सरकारमा एमाले–नेकपा सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

ड्रागन मिडिया समाचार कक्ष
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा तीन बुँदे सहमति भएको छ।
प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोध अन्त्य गर्दै सुशासन तथा विकासको गतिलाई तीव्रता दिन सहकार्य गर्ने सहमति भएको हो।
शनिबार भएको सहमतिअनुसार पाँच प्रदेशको सरकारको नेतृत्व बाँडफाँट गरिएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले सम्हाल्नेछ।
मधेस र गण्डकी प्रदेशका विषयमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप निर्धारण गरिने सहमतिपत्रमा उल्लेख छ।
पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माण तथा पारित गर्ने प्रक्रियामा देखिएको असमझदारी र बजेटविहीनताको अवस्था अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्न सहकार्य आवश्यक भएको दुई दलले जनाएका छन्।
जनताको चाहनाअनुसार प्रादेशिक विकास अघि बढाउन संयुक्त सरकार गठन गर्ने र प्रदेशसभाहरूमा प्रभावकारी सहकार्य गर्ने निर्णयसमेत भएको छ।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्।





