डा. केसीसँग वार्ता गर्न शिक्षासचिव पौडेल धनगढीमा

ड्रागन मिडिया समाचार कक्ष
अनशनरत प्राध्यापक डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका छन्।
शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेललाई डा. केसीसँग सम्वाद गरी अनशनको सहमतिपूर्ण निकास खोज्न धनगढी पठाइएको हो। मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन सम्वाद गरेका थिए।
मन्त्री पोखरेलका अनुसार शुक्रबारको टेलिफोन सम्वादलाई औपचारिक वार्तामा रूपान्तरण गर्न सचिव पौडेललाई पठाइएको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवसमेत आइतबार धनगढी पुगेर वार्तामा सहभागी हुने कार्यक्रम छ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी पाँचबुँदे माग राख्दै डा. केसी बिहीबारदेखि धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा २४औँ सत्याग्रहमा बसेका थिए।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ। चिकित्सकीय परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रगतमा चिनीको मात्रा ५० मापन भएपछि तत्काल अस्पताल भर्ना गर्न चिकित्सकले सुझाव दिएका थिए।
सरकारले वार्ता र सम्वादमार्फत डा. केसीको अनशन अन्त्य गराउँदै उनका मागको सहमतिपूर्ण समाधान खोज्ने प्रयास अघि बढाएको जनाएको छ।
Fore more please visit: Dragon Media





