डि लिडेको ९७ रन, नेदरल्यान्ड्सद्वारा नामिबिया ५८ रनले पराजित

ड्रागन मिडिया समाचार कक्ष
अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रन तथा आर्यन दत्त र लोगान भान बिकको धारिलो बलिङप्रेरित नेदरल्यान्ड्सले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को ११७औँ खेलमा नामिबियालाई ५८ रनले पराजित गरेको छ।
नेदरल्यान्ड्सको युट्रेख्टस्थित स्पोर्टपार्क मार्सखाल्करवेर्डमा शनिबार भएको खेलमा २५२ रनको लक्ष्य पछ्याएको नामिबिया ४७.५ ओभरमा १९३ रनमा समेटियो। दत्त र भान बिकले चार–चार विकेट लिएपछि नेदरल्यान्ड्सले घरेलु शृङ्खलामा लगातार दोस्रो जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २५१ रन बनाएको थियो। तीन विकेट गुमाउँदा ७२ रनको अवस्थामा पुगेको टोलीलाई डि लिडे र कप्तान स्कट एडवर्ड्सले सम्हालेका थिए।
डि लिडेले ९२ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ९७ रन बनाए। उनी शतक पूरा गर्न तीन रनले चुके। एडवर्ड्सले ६० बलमा ४० तथा म्याक्स ओ’डाउडले ५२ बलमा ३९ रन जोडे। अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका लोगान भान बिक नौ बलमा एक चौका र एक छक्कासहित १८ रनमा अविजित रहे।
नामिबियाका यान निकोल लोफ्टी–इटनले दुई विकेट लिए। जेजे स्मित, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ट्ज र कप्तान गेरहार्ड एरास्मसले एक–एक विकेट हात पारे।
२५२ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ३२ रनभित्रै दुई विकेट गुमाएको थियो। लाउरेन स्टिनक्याम्प र मलान क्रुगरले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे।
स्टिनक्याम्पले ८७ बलमा एक चौका र तीन छक्कासहित ६८ रन बनाए। क्रुगरले ६६ बलमा ३६ तथा कप्तान एरास्मसले ४९ बलमा २७ रन जोडे। स्टिनक्याम्प आउट हुँदा नामिबियाले ३५.२ ओभरमा चार विकेट गुमाएर १४१ रन बनाएको थियो।
त्यसपछि दत्त र भान बिकले नियमित विकेट लिएपछि नामिबियाको मध्य तथा तल्लो क्रम टिक्न सकेन। टोलीले अन्तिम छ विकेट ५२ रन जोड्दा गुमायो।
दत्तले १० ओभरमा दुई मेडन राख्दै ३५ रन खर्चेर चार विकेट लिए। भान बिकले नौ ओभरमा दुई मेडनसहित २९ रन दिएर चार विकेट हात पारे। जाक लायन–क्याचेट र काइल क्लाइनले एक–एक विकेट लिए। निर्णायक ९७ रन बनाएका डि लिडे ‘प्लेयर अफ द म्याच’ घोषित भए।
यो जितसँगै नेदरल्यान्ड्सले ३० खेलबाट ३६ अंक पुर्याउँदै अंकतालिकाको तेस्रो स्थान बलियो बनाएको छ। नेपाल र नामिबियाको समान ३० खेलबाट २४–२४ अंक छ। नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन्। २८ खेलबाट २४ अंक जोडेको क्यानडा सातौँ स्थानमा छ।
घरेलु शृङ्खलामा नेदरल्यान्ड्सले यसअघि नेपाललाई छ विकेटले पराजित गरेको थियो। नेपाल भने शुरुवाती दुवै खेलमा पराजित भएको छ। पहिलो खेलमा नामिबियासँग आठ विकेटले हारेको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो।
नेपालले शृङ्खलाको तेस्रो खेल सोमबार नामिबिया र चौथो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ। ३० खेल पूरा गरेको नेपालका अब लिग–२ मा छ खेल बाँकी छन्।
लिग–२ का शीर्ष चार टोलीले सिधै विश्वकपमा नभई सन् २०२७ को पुरुष एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। नेपालले बाँकी सबै खेल जिते अधिकतम ३६ अंक पुर्याउन सक्छ। त्यसैले शीर्ष चारको सम्भावना जीवित राख्न नेपालले बाँकी खेलमा लगभग त्रुटिहीन प्रदर्शन गर्नुका साथै अन्य टोलीको नतिजासमेत अनुकूल हुनुपर्ने अवस्था छ।





