२० भाद्र २०८३, शनिबार

कोशीमा हिक्मतकुमार कार्कीको विकल्पमा मेन्याङ्बोको चर्चा

ड्रागन मिडिया समाचार कक्ष

नेकपा एमालेभित्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विकल्प खोज्ने विषयमा छलफल शुरु भएको छ। प्रदेशमा एमालेकै नेतृत्व कायम रहने निश्चित भएपछि संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्नेबारे पार्टीभित्र छलफल भइरहेको हो।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच शनिबार भएको तीनबुँदे सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ। कर्णाली र सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीले नेतृत्व गर्ने तथा मधेश र गण्डकीमा अन्य दलसँग छलफल गरेर निर्णय गर्ने सहमति भएको छ।

कोशीको नेतृत्व एमालेको भागमा परे पनि वर्तमान मुख्यमन्त्री कार्कीलाई निरन्तरता दिने वा नयाँ नेतृत्व अघि सार्ने भन्ने औपचारिक निर्णय भइसकेको छैन। एमालेभित्र नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आए मेन्याङ्बोलाई पहिलो विकल्पका रूपमा हेरिएको नेताहरूले बताएका छन्।

मेन्याङ्बोले आफूलाई मुख्यमन्त्री बनाउने विषयमा पार्टीभित्र सकारात्मक छलफल भइरहेको दाबी गरेका छन्। “छलफल चलिरहेको छ, छिट्टै टुङ्गो लाग्छ। मलाई तयारी अवस्थामा रहन भनिएको छ,” उनले भने, “म विश्वस्त छु, चाँडै अन्तिम निर्णय हुन्छ।”

ताप्लेजुङबाट निर्वाचित मेन्याङ्बो एमाले कोशी प्रदेश संसदीय दलका उपनेता हुन्। उनी यसअघि कोशी प्रदेश सरकारमा स्वास्थ्य तथा खानेपानी, सिँचाइ र ऊर्जासम्बन्धी मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका नेता हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने मुख्यमन्त्री कार्कीको विकल्प खोज्ने विषयमा पार्टी नेतृत्वसमेत सकारात्मक बनेको दाबी गरिएको छ। यद्यपि नेतृत्व परिवर्तनबारे एमालेले औपचारिक निर्णय वा सार्वजनिक घोषणा गरेको छैन।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेशकुमार बस्नेतले पनि नयाँ मुख्यमन्त्रीका विषयमा अन्तिम टुङ्गो लागिनसकेको बताएका छन्। उनका अनुसार प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भए पनि कसले नेतृत्व गर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय नेतृत्व र संसदीय दलको छलफलबाट हुनेछ।

कार्की एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सचिव हुन्। उनी हाल तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा छन्। नयाँ सत्ता सहकार्य कार्यान्वयनका क्रममा मन्त्रिपरिषद पुनर्गठनसँगै नेतृत्व परिवर्तन गर्ने वा कार्कीलाई नै निरन्तरता दिने भन्ने विषय एमालेभित्रको मुख्य छलफल बनेको छ।

एमालेले कार्कीको विकल्पमा मेन्याङ्बोलाई अघि सारे उनी कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका प्रमुख दाबेदार बन्नेछन्। तर त्यसका लागि संसदीय दलको नेतृत्व परिवर्तन, वर्तमान मुख्यमन्त्रीको राजीनामा तथा संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्नुपर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button