२० भाद्र २०८३, शनिबार

प्रवासी नेपालीलाई लगानीका सद्भावना दूत बन्न अर्थमन्त्री वाग्लेको आग्रह

ड्रागन मिडिया समाचार कक्ष

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने सरकार तथा आफ्नो पार्टीको मान्यताप्रति विश्वस्त रहन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन्।

अस्ट्रेलियाको सिड्नीमा आयोजित अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन (आई–वाईईएस २०२६) लाई शनिबार भर्चुअल सम्बोधन गर्दै वाग्लेले नेपाली जहाँ रहे पनि मातृभूमिसँगको पहिचान र सम्बन्ध निरन्तर रहने बताए।

“एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ,” उनले भने, “यसमा ढुक्क हुनुहोस्।”

फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनर्सको आयोजनामा जुलाई २४ र २५ मा भएको सम्मेलनमा विभिन्न देशका नेपाली युवा उद्यमी, लगानीकर्ता, नीतिनिर्माता र व्यावसायिक क्षेत्रका प्रतिनिधि सहभागी थिए।

अर्थमन्त्री वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालको विकास, लगानी विस्तार र अन्तर्राष्ट्रिय आर्थिक सम्पर्कका सद्भावना दूतका रूपमा सरकारले हेरेको बताए। अभूतपूर्व जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बलियो बनाउँदै आर्थिक विकासका सम्भावना विस्तार गर्न काम गरिरहेको उल्लेख गर्दै उनले प्रवासी नेपालीको सहकार्य आवश्यक रहेको धारणा राखे।

सरकारका पहिलो एक सय दिनमा सार्वजनिक सेवा सहज बनाउने, सुशासन कायम गर्ने र अर्थतन्त्रलाई सुधारको दिशामा लैजाने महत्वपूर्ण काम शुरु गरिएको उनको दाबी थियो। योग्यतामा आधारित प्रणाली, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र आर्थिक राजकाजमा संरचनात्मक सुधार सरकारका प्रमुख प्राथमिकता रहेको उनले बताए।

“सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहेका छन्,” वाग्लेले भने, “योग्यता, इमानदारी र आर्थिक सुधारमा आधारित पछिल्ला कदमले एक दशकयताकै महत्वपूर्ण सुधारको शुरुवात गरेका छन्।”

बजेटले कर तथा राजस्व प्रणाली, सार्वजनिक खर्चको वितरण र लगानी सहजीकरणमा नयाँ शुरुवात गरेको उल्लेख गर्दै उनले प्रवासी नेपालीमार्फत स्वदेशी तथा विदेशी लगानी नेपाल भित्रिने अपेक्षा सरकारले गरेको बताए।

नेपालमा लगानीबाट आर्जित वैध प्रतिफल फिर्ता लैजाने प्रक्रियालाई थप सहज बनाइने आश्वासन दिँदै उनले अस्ट्रेलियामा रहेका नेपालीलाई आफ्नै पूँजी तथा विदेशी लगानी नेपालमा ल्याउन सक्रिय भूमिका खेल्न आग्रह गरे।

“तपाईंहरू नेपालका सद्भावना दूत हुनुहुन्छ,” अर्थमन्त्री वाग्लेले भने, “आफूले वैधानिक रूपमा कमाएको पूँजी वा विदेशी लगानी नेपाल भित्र्याउन तपाईंहरू सबैभन्दा प्रभावकारी सहजकर्ता बन्न सक्नुहुन्छ।”

सरकारले गैरआवासीय नेपाली लक्षित बन्ड, अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा अफसोर बन्ड जारी गर्ने तयारी तथा वैकल्पिक वित्त परिचालनका अवधारणा अघि सारेको उनले बताए। यी उपाय सरकारी खातामा मात्र निर्भर नभई निजी क्षेत्र, प्रवासी समुदाय र अन्तर्राष्ट्रिय लगानीबाट विकासका लागि आवश्यक पूँजी जुटाउने उद्देश्यले ल्याइएको उनको भनाइ थियो।

नेपालमा लगानी ल्याउन विद्यमान कानुनी, प्रक्रियागत वा संस्थागत अवरोधबारे स्पष्ट सुझाव दिन पनि उनले प्रवासी नेपालीलाई आग्रह गरे। सरकारले लगानी स्वीकृति, पूँजी प्रवेश, प्रतिफल फिर्ता र व्यावसायिक सञ्चालनका प्रक्रियामा थप सहजीकरण गर्न चाहेको उनले बताए।

अस्ट्रेलियामा विस्तार भइरहेको नेपाली समुदायलाई नेपालको आर्थिक समृद्धिका लागि महत्वपूर्ण सम्पत्तिका रूपमा उल्लेख गर्दै वाग्लेले राजनीतिक वा संस्थागत मतभेदभन्दा माथि उठेर देश निर्माणको साझा उद्देश्यमा सहकार्य गर्न आग्रह गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button