नेयमारका दुई गोलमा सान्तोसले चापेकोएन्सेसँग बराबरी खेल्यो

ड्रागन मिडिया समाचार कक्ष
नेयमारले दुई गोल गरेपछि सान्तोसले ब्राजिलको सिरी ए फुटबलमा चापेकोएन्सेसँग २–२ गोलको बराबरी खेल्दै हार टारेको छ।
शनिबार घरेलु मैदानमा भएको खेलमा नेयमारले सान्तोसलाई शुरुवाती अग्रता दिलाएका थिए। अल्भारो बारियलसँगको उत्कृष्ट तालमेलपछि उनले पहिलो स्पर्शमै बललाई टाढाको कुनामा पुर्याउँदै गोल गरे।
विश्वकपको अन्तिम १६ मा नर्वेसँग पराजित भएर ब्राजिल बाहिरिएपछि नेयमारले खेलेको यो पहिलो खेल थियो।
दोस्रो हाफ शुरु भएको केही समयमै मार्सिन्होले गोल गर्दै चापेकोएन्सेलाई बराबरीमा ल्याए। त्यसपछि सान्तोसका जोआओ अनानियासले आफ्नै पोस्टमा गोल गरेपछि पाहुना टोलीले २–१ को अग्रता बनाएको थियो।
खेलको ८९औँ मिनेटमा गुस्ताभो काबालेरोलाई ब्रुनो मातियासले लडाएपछि सान्तोसले पेनाल्टी पायो। नेयमारले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल २–२ को बराबरीमा टुङ्ग्याए।
बराबरीपछि सान्तोस २२ अंकसहित २० टोली सहभागी लिगको १४औँ स्थानमा छ। पुछारमा रहेको चापेकोएन्सेभन्दा सान्तोस १२ अंकले अगाडि छ।
कुरितिबामा भएको अर्को खेलमा लिओजिन्हो र केभिन भिभेरोसले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेपछि एथ्लेटिको पारानाएन्सेले इन्टरनासियोनाललाई २–० ले पराजित गर्यो।
जितसँगै पारानाएन्से ३६ अंकसहित तेस्रो स्थानमा पुगेको छ। २१ अंक रहेको इन्टरनासियोनाल १५औँ स्थानमा छ।
शनिबारको अर्को खेलमा भास्को दा गामाले मिरासोलसँग १–१ को बराबरी खेल्यो। पहिलो हाफमा इगोर फोर्मिगाले मिरासोललाई अग्रता दिलाएका थिए भने आन्द्रेस गोमेजले भास्कोका लागि बराबरी गोल फर्काए।





