रेवी एलीको विरासत सम्झँदै अकल्याण्डमा गोष्ठी र तस्बिर प्रदर्शनी

ड्रागन मिडिया समाचार कक्ष
न्युजिल्याण्ड र चीनबीचको मित्रता प्रवर्द्धन तथा न्युजिल्याण्डमा जन्मिएका लेखक, समाज सुधारक र शिक्षाविद् रेवी एलीको योगदान स्मरण गर्न शनिबार अकल्याण्डमा गोष्ठी तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ।
न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आयोजित प्रदर्शनीमा एलीले चीनमा बिताएका अविस्मरणीय वर्षलाई दुर्लभ तस्बिरमार्फत प्रस्तुत गरिएको थियो। तीमध्ये केही तस्बिर पहिलोपटक सार्वजनिक प्रदर्शनमा राखिएका थिए।
एली सन् १९२७ मा चीन पुगेका थिए। उनले लेखक, समाज सुधारक, शिक्षाविद् तथा चीन र न्युजिल्याण्डबीचको मित्रताका प्रवर्द्धकका रूपमा चीनमा ६० वर्ष काम गरेका थिए। सन् १९८७ मा बेइजिङमा बिरामीका कारण उनको निधन भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै न्युजिल्याण्डका लागि चिनियाँ राजदूत वाङ सियाओलोङले चीनको सामाजिक विकास तथा दुई देशबीचको मित्रतामा एलीले पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
राजदूत वाङले एलीको भावना समयातीत रहेको र चीन–न्युजिल्याण्ड मित्रताको बहुमूल्य सम्पत्ति बनेको बताए। सन् २०२७ मा एली चीन पुगेको एक सय वर्ष पूरा हुने उल्लेख गर्दै उनले दुवै देशले त्यस अवसरलाई विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग गहिरो बनाउने माध्यमका रूपमा प्रयोग गर्ने बताए।
उनले एलीको चीन आगमनको शतवार्षिकीले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन थप अवसर प्रदान गर्ने विश्वास पनि व्यक्त गरे।
गोष्ठीका अन्य वक्ताले आफ्ना अनुभव र दृष्टिकोणका आधारमा एलीका योगदान, मानवीय भावना र उच्च चरित्रको स्मरण गरे। उनीहरूले ‘एली भावना’लाई निरन्तरता दिँदै न्युजिल्याण्ड र चीनबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले एलीको जीवन र योगदान दुई देशबीच आपसी समझदारी, जनस्तरीय सम्बन्ध र सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण आधार बनेको धारणा राखेका थिए।





