इरानमाथिका अमेरिकी हवाई आक्रमणमा अस्थायी विराम, द्वन्द्व विस्तारप्रति भान्स चिन्तित

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी उपराष्ट्रपति जे डी भान्सले अमेरिका र इरानबीचको सैन्य द्वन्द्व थप विस्तार हुन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले श्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।
अमेरिकी रक्षा मन्त्रालयसम्बद्ध एक श्रोतले इरानविरुद्ध जारी आक्रमणात्मक कारबाही तत्कालका लागि रोकिएको पुष्टि गरेको सीएनएनको समाचारमा उल्लेख छ। उक्त श्रोतले सैन्य कारबाही अहिले “रोकिएको अवस्थामा” रहेको बताए पनि रक्षा मन्त्रालयलाई आक्रमण स्थगित गर्न प्रेरित गर्ने निश्चित कारण खुलाइएको छैन।
लगातार १३ रातसम्म इरानमाथि हवाई आक्रमण गरेपछि अमेरिकाले बमबारी अभियानमा अस्थायी विराम लगाएको हो। यद्यपि इरानविरुद्ध अमेरिकाले लागू गरेको समुद्री नाकाबन्दी भने पूर्ण रूपमा कायम रहेको अमेरिकी सेनाले जनाएको छ।
सीएनएनका अनुसार भान्स र अमेरिकी संयुक्त सेना प्रमुख जनरल ड्यान केनले शुक्रबार ह्वाइट हाउसमा भएको छलफलका क्रममा अमेरिकी हतियार तथा गोलाबारुद भण्डारमाथि पर्न सक्ने दबाबबारे राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष चिन्ता राखेका थिए।
अमेरिकी प्रशासनभित्र द्वन्द्व थप विस्तार हुँदा मध्यपूर्वको स्थिरता, अमेरिकी सैन्य भण्डार, खाडी क्षेत्रका साझेदार तथा विश्वव्यापी ऊर्जा आपूर्तिमा पर्न सक्ने प्रभावबारे चिन्ता बढेको बताइएको छ। ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले राष्ट्रपति ट्रम्पले कूटनीतिक समाधानलाई प्राथमिकता दिँदै आएको तर इरान गम्भीर वार्तामा नआए सैन्य विकल्प खुला रहने बताएका छन्।
आक्रमणमा आएको विराम औपचारिक युद्धविराम भने होइन। अमेरिकी पक्षले सैन्य कारबाही पुनः शुरु हुन सक्ने सम्भावनालाई अस्वीकार गरेको छैन भने इरानसँग सम्भावित वार्ताका लागि कूटनीतिक प्रयास जारी रहेको बताइएको छ।
भान्सले यसअघि पनि इरानसँगको समस्या सैन्य शक्तिबाट मात्र समाधान गर्न नसकिने भन्दै आक्रमणसँगै संवाद र कूटनीतिक पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।





