भारतीय सहयोगमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु

ड्रागन मिडिया समाचार कक्ष
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आइतबार शिलान्यास गरिएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
भारत सरकारको करिब एक करोड ९० लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने विद्यालय भवनसम्बन्धी परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
भारतीय राजदूतावासका अनुसार यो कञ्चनपुर जिल्लामा सञ्चालन गरिएको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
शिलान्यास कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क पूर्वाधार र सार्वजनिक उपयोगिताका प्राथमिक क्षेत्रमा नेपाल सरकारका विकास प्रयासलाई सहयोग गर्दै आएको जनाएको छ।
नेपाल र भारतबीचको बहुआयामिक विकास सहकार्यअन्तर्गत निर्माण हुन लागेको विद्यालय भवनले स्थानीय विद्यार्थीको शैक्षिक पहुँच र विद्यालयको भौतिक पूर्वाधार सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।





