२० भाद्र २०८३, शनिबार

वन, कृषि र प्राकृतिक स्रोत संरक्षणलाई उच्च प्राथमिकता दिन मन्त्री चौधरीको आग्रह


ड्रागन मिडिया समाचार कक्ष

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।

धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा मन्त्री चौधरीले वन र पर्यावरणको संरक्षणबिना मानव अस्तित्व नै सङ्कटमा पर्ने उल्लेख गर्दै प्राकृतिक श्रोतको संरक्षणमा सरकार, स्थानीय तह, समुदाय र नागरिक सबै जिम्मेवार बन्नुपर्ने बताइन्।

उनले सडक पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने भन्दै कृषि, वन, जल, जमिन र वातावरण संरक्षणसँगै समग्र तथा सन्तुलित विकासमा जोड दिनुपर्ने धारणा राखिन्।

“देश निर्माणका लागि सबै क्षेत्रको सन्तुलित विकास आवश्यक छ,” मन्त्री चौधरीले भनिन्, “प्राकृतिक श्रोतको संरक्षणलाई विकासको अभिन्न आधारका रूपमा लिनुपर्छ।”

बाल्यकालदेखि ‘हरियो वन नेपालको धन’ र ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने सुन्दै आए पनि कृषि र वन क्षेत्रले अपेक्षित प्राथमिकता पाउन नसकेको उनले बताइन्। सरकारले माटो सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै कृषि उत्पादन वृद्धि र प्राकृतिक श्रोत संरक्षणमा प्रतिबद्ध भएर काम गरिरहेको उनको भनाइ थियो।

मन्त्री चौधरीले प्रत्येक प्रदेशमा एक–एकवटा प्राणी उद्यान स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिइन्। सोही योजनाअनुसार मधेश प्रदेशमा पनि उपयुक्त स्थान पहिचान गरी प्राणी उद्यान निर्माण गरिने उनले बताइन्।

कार्यक्रममा वृक्षरोपणसँगै वन, कृषि र पर्यावरण संरक्षणका चुनौती, स्थानीय समुदायको भूमिका तथा प्राकृतिक श्रोतको दिगो उपयोगबारे छलफल गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button