मोबाइल विवादमा १७ वर्षीय किशोरको हत्या आरोप, चार जना नियन्त्रणमा

ड्रागन मिडिया समाचार कक्ष
बागलुङको बडिगाड गाउँपालिका–१ मा मोबाइल फोनको विषयमा भएको विवादपछि १७ वर्षीय एक किशोरको कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
साउन १ गते साथीको जन्मदिन मनाउन गएका किशोर बेपत्ता भएका थिए। खोजतलासका क्रममा करिब नौ दिनपछि स्थानीय खोल्सामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा १५ देखि २० वर्ष उमेर समूहका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये दुई जना नाबालिग छन्। बालबालिकासम्बन्धी कानुनी गोपनीयतालाई ध्यानमा राख्दै पीडित र नाबालिग आरोपितको पहिचान खुलाइएको छैन।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार जन्मदिन मनाउने क्रममा सात जना स्थानीय विद्यालयमा भेला भएका थिए। उनीहरूले राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइल फोन माग्दा नदिएको विषयमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रहरीका अनुसार अन्य साथी घरतर्फ लागेपछि दुई जनाले किशोरलाई पछ्याएर एकान्त स्थानमा पुर्याएका थिए। त्यहाँ कुटपिटबाट उनी अचेत भएको र मृत्यु भएपछि शव घटनास्थलभन्दा केही टाढा लगेर लुकाइएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
किशोर बेपत्ता भएको उजुरीपछि प्रहरीले विभिन्न स्थानमा खोजी गरेको थियो। खोजतलास जटिल बनेपछि प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासमेत परिचालन गरिएको थियो।
प्रहरीले आरोपितहरूलाई शव फेला पर्नुअघि नै नियन्त्रणमा लिएर व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान शुरु गरेको थियो। शव भेटिएपछि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
मृतक काठमाडौंको धुम्बाराहीस्थित एक कलेजमा कक्षा ११ मा अध्ययनरत थिए। उनी केही समयअघि घर आएका बेला साथीको जन्मदिन मनाउन गएको परिवारजनले बताएका छन्।
प्रहरीले घटनाको कारण, संलग्नताको स्तर र अन्य सम्भावित प्रमाणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





