लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले सोमबार राजीनामा दिने

ड्रागन मिडिया समाचार कक्ष
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका तर्फबाट सरकारमा सहभागी पाँच मन्त्रीले सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।
राजीनामा दिने तयारीमा खानेपानी तथा शहरी विकासमन्त्री सरोज थापा, आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, सामाजिक विकासमन्त्री जन्मजय तिम्सेना, पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार छन्।
कांग्रेसका मन्त्रीहरूले आइतबार नै राजीनामा बुझाउने तयारी गरेका थिए। तर सार्वजनिक बिदा परेको र मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेकाले राजीनामा सोमबारका लागि सारिएको कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्।
लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यका आधारमा २०८१ साउनमा एमाले नेतृत्वको सरकार गठन भएको थियो। एमालेका चेतनारायण आचार्य हाल मुख्यमन्त्री छन्।
केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि त्यसको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि परेको हो। दुई दलबीच शनिबार भएको तीनबुँदे सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने समझदारी बनेको छ।
८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेसँग २९ सांसद छन् भने नेपाली कम्युनिस्ट पार्टीसँग सभामुखसहित १३ सांसद रहेको बताइएको छ।
दुवै दलको कुल सङ्ख्या ४२ पुगे पनि सभामुखले सामान्य अवस्थामा मतदान नगर्ने संवैधानिक अभ्यासका कारण सरकार गठन र विश्वासको मतका लागि थप सांसदको समर्थन आवश्यक पर्न सक्नेछ। त्यसैले नयाँ गठबन्धनले अन्य दल वा स्वतन्त्र सांसदसँग पनि संवाद अघि बढाउने सम्भावना देखिएको छ।
कांग्रेसका मन्त्रीहरूको राजीनामासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गर्नेछन्। नयाँ सत्ता समीकरणअनुसार नेपाली कम्युनिस्ट पार्टीलाई सरकारमा सहभागी गराउने र मन्त्रालय बाँडफाँट गर्ने विषयमा दुवै दलबीच थप छलफल हुने बताइएको छ।





