१७ भाद्र २०८३, बुधबार

बाँकेमा ४५ हजार लगानीकर्ताले खोले टिएमएस खाता


ड्रागन मिडिया समाचार कक्ष

बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणाली विस्तार भएसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो।

इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख उदय अधिकारीका अनुसार अनलाइनमार्फत जुनसुकै स्थानबाट शेयर कारोबार गर्न सकिने भएपछि टिएमएस प्रयोगकर्ताको सङ्ख्या बढेको छ।

“अहिले लगानीकर्ता प्रविधिमा अभ्यस्त भइसकेका छन्। त्यसैले नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टिएमएसको सुविधा खोज्ने गरेका छन्,” अधिकारीले भने।

उनका अनुसार बाँकेमा हालसम्म ६२ हजार ७९६ जनाले हितग्राही अर्थात डिम्याट खाता खोलेका छन्। तीमध्ये ३७ हजार ३०० पुरुष, २५ हजार ४५९ महिला र ३७ जना अन्य छन्। कुल खातामध्ये करिब १० प्रतिशत निष्क्रिय रहेको उनले जानकारी दिए।

बैंक तथा वित्तीय संस्थाले डिम्याट खाता खोल्ने सुविधा विस्तार गर्नुका साथै शेयर बजारबाट आम्दानी गर्न सकिने विषयमा गाउँसम्म जनचेतना बढेपछि नयाँ लगानीकर्ता थपिने क्रम तीव्र बनेको अधिकारीको भनाइ छ।

लगानीकर्ता कुलप्रसाद शर्माले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिनकै लागि पनि धेरैले डिम्याट खाता खोल्ने गरेको बताए। उनका अनुसार नियमित लगानी गर्ने उद्देश्यभन्दा अरूको देखासिकीमा खाता खोल्ने प्रवृत्तिले पनि डिम्याट खाताको सङ्ख्या बढाएको छ।

नेपालगञ्जमा हाल इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज र प्राइमो सेक्युरिटिजमार्फत शेयर कारोबार हुँदै आएको छ। बाँकेसँगै बर्दिया, दाङ, कैलाली, कालीकोट र जुम्लालगायत जिल्लाका लगानीकर्ताले पनि नेपालगञ्जलाई शेयर कारोबारको क्षेत्रीय केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button