बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन दोब्बरभन्दा बढी
ड्रागन मिडिया समाचार कक्ष
बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ। पाटेबाघसहित वन्यजन्तु अवलोकनका लागि आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ पर्यटक निकुञ्ज पुगेका हुन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६२० र २०८०/८१ मा ४४४ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए।
“पर्यटकको आगमन बढ्नु यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु हो,” कँडेलले भने, “सरोकारवाला निकायले पर्यटन प्रवर्द्धनका योजना बनाएर प्रभावकारी कार्यान्वयन गरे आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझ बढाउन सकिन्छ।”
निकुञ्जले वार्षिक पर्यटक सङ्ख्या चार हजार पुर्याउने लक्ष्य राखेको छ। कँडेलले आगामी वर्ष लक्ष्य हासिल गर्न सकिने दाबी गर्दै निकुञ्जमा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बताए। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ‘इकोलोजिकल टुरिजम’मा जोड दिइएको उनको भनाइ छ।
उनले पर्यटन पूर्वाधार विस्तारका लागि घरबास तथा होटल व्यवसायमा लगानी बढाउन आग्रह गरे। बाँके र बर्दिया क्षेत्र प्रमुख ‘टाइगर कन्जरभेसन युनिट’ रहेको उल्लेख गर्दै उनले पाटेबाघ संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउन सकिने बताए।
वातावरण तथा ग्रामीण विकास केन्द्र बाँकेका प्रमुख धर्म रोकायले पर्यटन प्रवर्द्धन सबैको साझा दायित्व भएको बताए। सरोकारवाला निकायबीच सहकार्य र समन्वय गरी पूर्वाधार विकास तथा प्रचारप्रसारलाई तीव्र बनाउनुपर्नेमा उनले जोड दिए।
पर्यटन व्यवसायी देवानन्द अर्यालले पर्यटक आकर्षित गर्न विशेष प्याकेजसहित भ्रमण वर्ष घोषणा गर्न र सेवामा कम्तीमा ५० प्रतिशत छुट दिन प्रस्ताव गरे।
बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधि विस्तार गर्नुपर्ने बताए।
निकुञ्जमा हाल २५ वटा वयस्क पाटेबाघ छन्। चितुवासहित अन्य वन्यजन्तुको सङ्ख्या पनि बढेको निकुञ्जले जनाएको छ। यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछासहित कुल ४२२ प्रजातिका प्राणी पाइन्छन्।
विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्ज विमानस्थलबाट करिब १६ किलोमिटर दूरीमा छ।





