अवैध लागुऔषधसहित विभिन्न जिल्लाबाट २७ जना पक्राउ
ड्रागन मिडिया समाचार कक्ष
प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न जिल्लाबाट २७ जनालाई पक्राउ गरेको छ। शनिबार र आइतबार काठमाडौं, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी पश्चिम, कास्की, बाँके र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट करिब ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेको बा८३प ४३७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।
झापाको मेचीनगर नगरपालिका–६ बाट एक, भद्रपुर नगरपालिका–५ बाट एक, मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट एक र बिर्तामोड नगरपालिका–१ बाट दुई जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–२ र रतुवामाई नगरपालिका–८ स्थित कुखुरेडाँडाबाट एक–एक जना पक्राउ परेका छन्। सिराहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलबाट पनि एक जना पक्राउ परेका छन्।
बर्दियाको गुलरिया नगरपालिका–११ स्थित गणेशपुर गाउँबाट दुई र सोही वडाको अर्को स्थानबाट एक जना पक्राउ परेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीबाट चरेसजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकबाट दुई, गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट एक, धनगढी उपमहानगरपालिका–७ मोतीचोकबाट एक र लम्कीचुहा नगरपालिका–७ खरौलाबाट एक जना पक्राउ परेका छन्।
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ गेर्मीबाट डाइजेपाम १९८ एम्पुल, फेनारगन १९७ एम्पुल र बुप्रेनोर्फिन १९९ एम्पुलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज बरगदवा पिपरा निवासी ३३ वर्षीय सबरे आलमसमेत छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट दुई, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ बाट एक र सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ राजीगाउँबाट तीन जना पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





