नौसेना दिवसमा पुटिनको सन्देश : समुद्री शक्ति सुदृढ बनाइरहने प्रतिबद्धता

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नौसेना दिवसका अवसरमा शुभकामना दिँदै रुसको रक्षा, सुरक्षा र विश्व महासागरमा रहेका वैधानिक हितको संरक्षणमा नौसेनाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
जुलाई २६ मा मनाइएको नौसेना दिवसका अवसरमा जारी सन्देशमा पुटिनले विभिन्न युग र पुस्ताका नौसैनिक, वैज्ञानिक तथा श्रमिकले सैन्य विजय, कठोर परिश्रम र वैज्ञानिक उपलब्धिमार्फत रुसलाई महान समुद्री शक्तिका रूपमा स्थापित गरेको उल्लेख गरेका छन्।
उनले नौसैनिक सेवामा युद्धसम्बन्धी जिम्मेवारीसँगै प्रकृतिका कठिन परिस्थितिको सामना गर्नुपर्ने भएकाले रुसी नौसैनिकमा कर्तव्यनिष्ठा, साहस, भ्रातृत्व र मातृभूमिप्रतिको समर्पण विकसित भएको बताए।
रुस १३ समुद्रको पानीले घेरिएको देश भएको उल्लेख गर्दै पुटिनले राष्ट्रिय रक्षा र सुरक्षा सुनिश्चित गर्न नौसेनाको भूमिका अपरिहार्य रहेको बताए। रुसी नौसेना आफूलाई दिइएका सबै प्रकारका जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सक्षम रहेको उनको भनाइ छ।
पुटिनका अनुसार रुसको आणविक त्रिशक्तिको नौसैनिक पक्ष थप सुदृढ हुँदै गएको छ। युद्धपोत तथा विशेष प्रयोजनका जहाजको श्रृंखलाबद्ध उत्पादन जारी रहेको र पनडुब्बी, सतही, तटीय तथा हवाई एकाइमा आधुनिक हतियार र उपकरण आपूर्ति विस्तार भइरहेको उनले बताए।
उनले प्रशिक्षण केन्द्र र वास्तविक युद्ध अनुभवबाट नौसैनिकको व्यावसायिक क्षमता बढिरहेको तथा रणनीतिक र सामरिक परिस्थितिमा आउने परिवर्तनअनुसार शीघ्र अनुकूलन गर्ने क्षमता पनि सुदृढ भइरहेको उल्लेख गरे।
रुसी राष्ट्रपति पुटिनले समुद्री पैदल सेना र नौसैनिक कर्मचारीको दक्षता, दृढता र साहसले हाल सञ्चालन भइरहेको विशेष सैन्य अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनका अनुसार दशौँ हजार नौसैनिक र अधिकृतले उच्च सरकारी पदक प्राप्त गरेका छन्, जसमा ‘रुसका नायक’ को स्वर्णतारा सम्मानसमेत समावेश छ।
पुटिनले नौसेनाको शक्ति सुदृढ बनाउन योगदान पुर्याउने सबै नौसैनिकलाई धन्यवाद दिँदै उनीहरू र परिवारजनलाई नौसेना दिवसको शुभकामना व्यक्त गरेका छन्।





