रुसमा नौसेना दिवस : ३३० वर्षको गौरवशाली इतिहास र सन् २०५० सम्मको रणनीति
३३० वर्षको गौरवशाली इतिहास र सन् २०५० सम्मको रणनीति

ड्रागन मिडिया समाचार कक्ष
रुसले नौसेनाको ३३० वर्ष लामो इतिहास, सैन्य उपलब्धि र राष्ट्रिय सुरक्षामा पुर्याएको योगदान स्मरण गर्दै नौसेना दिवस मनाएको छ। यस अवसरमा रुसी नेतृत्वले देशको सीमा, रक्षा तथा विश्व समुन्द्रमा रहेका वैधानिक राष्ट्रिय हित संरक्षणमा नौसेनाको भूमिका निर्णायक रहेको बताएको छ।
रुसमा सन् १९९६ मा नौसेना स्थापनाको ३००औँ वार्षिकोत्सवका अवसरमा सेन्ट पिटर्सबर्गमा पहिलो मुख्य नौसैनिक परेड आयोजना गरिएको थियो। राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१७ मा कार्यकारी आदेश जारी गर्दै वार्षिक रूपमा मुख्य नौसैनिक परेड आयोजना गर्ने परम्परा स्थापित गरेका थिए।
पुटिनले सन् २०२५ जुलाई २७ मा नौसेना दिवसका अवसरमा दिएको सन्देशमा पिटर महानको समयदेखि नै नौसेना रुसको शक्ति र गौरवको आधार रहँदै आएको बताएका थिए। उनले नौसैनिकको दृढता, साहस, ज्ञान, इमानदारी, एकता र मातृभूमिप्रतिको निःशर्त प्रेम कठिन तथा जोखिमपूर्ण सेवाबाट विकसित भएको उल्लेख गरेका थिए।
रुसी राष्ट्रपतिका अनुसार पुस्तान्तरण हुँदै आएका यी परम्पराले वर्तमान नौसेनालाई देशको रक्षा, सुरक्षा र विश्व समुन्द्रमा रहेका वैधानिक हित संरक्षण गर्न सक्षम बनाएको छ।
रुसी नौसेना रुसी साम्राज्यको सैन्य बेडा र सोभियत नौसेनाको उत्तराधिकारी हो। यसको सङ्गठनात्मक संरचनाअन्तर्गत उत्तरी, प्रशान्त, बाल्टिक र कालोसागर बेडासँगै क्यास्पियन फ्लोटिला गरी पाँच प्रमुख परिचालन तथा रणनीतिक शक्ति छन्।
रुसी नौसैनिक परम्पराको औपचारिक शुरुवात सन् १६९६ अक्टोबर ३० मा पिटर प्रथमको निर्देशनमा बोयार डुमाले नियमित नौसेना निर्माणसम्बन्धी आदेश पारित गरेपछि भएको मानिन्छ।
रुसको पहिलो नियमित नौसैनिक शक्ति आजोभ बेडा थियो। दक्षिणी सीमा रक्षा गर्ने अभियानका लागि भोरोनेझमा स्थापना गरिएको यही बेडासँगै रुसको पहिलो एडमिरल्टी र जलयात्रा विद्यालय सञ्चालनमा आएका थिए। त्यहीँ पहिलोपटक सेन्ट एन्ड्र्युको क्रस अङ्कित सेतो झण्डा फहराइएको थियो, जुन अहिले पनि रुसी नौसेनाको प्रमुख झण्डा हो।
महान उत्तरी युद्धका क्रममा सन् १७०२ मा बाल्टिक बेडा गठन गरिएको थियो। सन् १७१४ जुलाई २७ मा भएको गाङ्गुट युद्धलाई रुसी नौसेनाको पहिलो ठूलो विजय मानिन्छ। पिटर महानको प्रत्यक्ष सहभागिता र नेतृत्वमा रुसी नौसेनाले स्विडेनका प्रमुख फ्रिगेट ‘एलिफेन्ट’सहित १० वटा जहाज नियन्त्रणमा लिएको थियो।
गाङ्गुट विजयले रुसलाई महान समुद्री शक्तिका रूपमा स्थापित गरेको मानिन्छ। दुई सय वर्षभन्दा लामो समयदेखि जुलाई २७, पुरानो पात्रोअनुसार अगस्ट ९ मा यस विजयको स्मरण गरिँदै आएको छ।
सन् १७२२ को सफल फारस अभियानपछि क्यास्पियन फ्लोटिला स्थापना गरिएको थियो। सन् १७८३ मा क्रिमिया रुसी साम्राज्यमा समावेश भएपछि कालोसागर बेडा गठन गरिएको थियो।
महान देशभक्तिपूर्ण युद्धका क्रममा सोभियत नौसेनाले शत्रुका नौसैनिक शक्तिविरुद्ध लड्नुका साथै तटीय क्षेत्रमा परिचालित स्थल सेनालाई सहयोग गरेको थियो। युद्धमा योगदान पुर्याएका ७८ वटा जहाजलाई ‘गार्ड्स’ उपाधि प्रदान गरिएको थियो भने पाँच सयभन्दा बढी नौसैनिकले ‘सोभियत सङ्घका नायक’ सम्मान प्राप्त गरेका थिए।
वर्तमान रुसी नौसेनामा सतही तथा पनडुब्बी शक्ति, नौसैनिक उड्डयन, क्षेप्यास्त्र तथा तोपखाना एकाइसहितका तटीय सुरक्षा बल र समुद्री पैदल सेना समावेश छन्।
रुसले सन् २०२५ मा पहिलोपटक दीर्घकालीन नौसैनिक विकास रणनीति स्वीकृत गरेको थियो। सन् २०५० सम्मका लागि तयार गरिएको रणनीतिले विश्व समुन्द्रमा उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति, नौसैनिक प्रविधिको विकास र रुसको समुद्री शक्तिलाई दीर्घकालीन रूपमा सुदृढ गर्ने लक्ष्य लिएको छ।
रुसी राष्ट्रपतिका सहायक तथा मेरिटाइम बोर्डका अध्यक्ष निकोलाई पात्रुशेभले आधुनिक रुसी इतिहासमा पहिलोपटक यस्तो दीर्घकालीन रणनीतिक दस्तावेज स्वीकृत भएको बताएका छन्। उनका अनुसार विश्वका प्रमुख समुद्री शक्तिमध्ये एकका रूपमा रुसको स्थान क्रमशः पुनःस्थापित भइरहेको छ।
रुसले नौसेना दिवसमा ऐतिहासिक नौसैनिक कमान्डर, नाविक, अधिकृत, जहाज निर्माता, वैज्ञानिक र सैनिकको योगदानप्रति सम्मान व्यक्त गर्दै नौसेनाको गौरवशाली इतिहासलाई भावी पुस्तासम्म निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





