दक्षिण चीन सागरमा डुबेको भियतनामी जहाजबाट ४५ जनाको उद्धार

ड्रागन मिडिया समाचार कक्ष
दक्षिण चीन सागरस्थित नान्सा टापु समूहको योङशु चट्टान नजिक संकटमा परेर डुबेको भियतनामी जहाजबाट चिनियाँ उद्धार टोलीले ४५ जनालाई जीवितै उद्धार गरेको छ। चीन र भियतनामका उद्धार टोलीले संयुक्त रूपमा बाँकी व्यक्तिको खोजी जारी राखेका छन्।
सान्सा अधिकारीका अनुसार भियतनामी झण्डावाहक ‘खोई न्गुयेन १८’ जहाज जुलाई २५ को राति भियतनामको खान्ह होआ प्रान्तबाट करिब २२० समुद्री माइल पूर्वमा दुर्घटनामा परेको थियो। ६९.९ मिटर लामो र १०.८ मिटर चौडा जहाजमा ६२ जना भियतनामी नागरिक सवार थिए।
चीनले उद्धार अभियानमा छवटा जहाज र एउटा हेलिकोप्टर परिचालन गरेको छ। घटनास्थलमा सातवटा भियतनामी जहाज पनि खोज तथा उद्धारमा सहभागी छन्।
चिनियाँ उद्धार टोलीले आइतबार दिउँसो १ः४२ बजेसम्म ४५ जनालाई जीवितै उद्धार गरेको सान्सा अधिकारीले ग्लोबल टाइम्सलाई बताएका छन्। भियतनामी उद्धार टोलीले थप एक जनालाई जीवित र एक जनालाई मृत अवस्थामा फेला पारेको जनाइएको छ।
आइतबार राति ८ः०५ बजेसम्म चिनियाँ जहाजमा रहेका उद्धार गरिएका ४१ जनालाई सुरक्षित रूपमा भियतनामी जहाजमा हस्तान्तरण गरिएको थियो। बाँकी चार जनालाई सोमबार हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको सान्सा सामुद्रिक खोज तथा उद्धार अधिकारीले जनाएका छन्।
चीन र भियतनामले संयुक्त तथा एकीकृत खोज–उद्धार कमान्ड प्रणाली स्थापना गरेका छन्। चिनियाँ उद्धार जहाज ‘नानहाइ जिउ ११५’ ले घटनास्थलको कमान्ड सम्हाल्दै दुवै देशका उद्धार साधनबीच समन्वय गरिरहेको छ।
शनिबार साँझ ६ः२३ बजे सान्या फर्किरहेको नानहाइ जिउ ११५ ले समुन्द्रमा एउटा जीवनरक्षक डुङ्गा देखेपछि त्यसमा रहेका २९ जना भियतनामी नागरिकलाई उद्धार गरेको थियो। उनीहरूबाट जहाज डुबेको र अन्य यात्रु तत्काल उद्धारको प्रतीक्षामा रहेको जानकारी प्राप्त भएको थियो।
जानकारी पाएलगत्तै सान्सा सामुद्रिक खोज तथा उद्धार निकायले आपत्कालीन योजना सक्रिय गर्दै प्रान्तीय, शहरी र जिल्ला तहलाई समेट्ने तीन तहको कमान्ड संयन्त्र स्थापना गरेको थियो। सेना, प्रहरी, तटरक्षक र नागरिक निकायलाई समेत अभियानमा परिचालन गरिएको छ।
नानहाइ जिउ ११५ सँगै नानहाइ जिउ ११३, उद्धार हेलिकोप्टर, तटरक्षक जहाज र अन्य साधनले सम्भावित क्षेत्रमा खोजी गरिरहेका छन्। आसपासका जहाजलाई सतर्क रहन र कुनै व्यक्ति वा वस्तु देखिए तत्काल जानकारी गराउन नौवहन सूचना जारी गरिएको छ।
चीनको प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गतको दक्षिण चीन सागर पूर्वानुमान केन्द्रले समुन्द्रमा रहेका व्यक्तिको सम्भावित बहाव र स्थान अनुमान गर्न नमुना तयार गरेको छ। खोजीलाई प्रभावकारी बनाउन भूउपग्रहबाट प्राप्त तस्बिरसमेत प्रयोग गरिएको छ।
सान्सा अधिकारीका अनुसार आँधी नोलले उद्धार अभियानमा कुनै प्रतिकूल प्रभाव पारेको छैन। दुवै देशका उद्धार टोलीबीच समन्वय, सूचना आदानप्रदान र खोज क्षेत्रको बाँडफाँट प्रभावकारी रूपमा भइरहेको छ।
उद्धार गरिएका व्यक्तिलाई चिनियाँ जहाजमा खाना र आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराइएको छ। उनीहरूको अवस्था सुधारोन्मुख रहेको अधिकारीले जनाएका छन्।
उद्धार गरिएका भियतनामी प्राविधिक न्गुयेन भान तोआनले चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै उनीहरूको प्रयासले आफू र आफ्ना साथीले नयाँ जीवन पाएको बताएका छन्। उद्धार गरिएका अन्य नागरिकले पनि चिनियाँ भाषामा ‘स्ये स्ये चोङ्गुओ’ अर्थात ‘धन्यवाद, चीन’ भन्दै कृतज्ञता व्यक्त गरेका थिए।
दक्षिण चीन सागर अध्ययनसम्बन्धी राष्ट्रिय संस्थानका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अध्ययन केन्द्रका निर्देशक तिङ तुओले यो संयुक्त अभियानले सामुद्रिक विवादभन्दा माथि मानवीय उद्धार, तीव्र प्रतिक्रिया र बहुपक्षीय समन्वयको महत्त्व देखाएको बताएका छन्।
उनका अनुसार चीनले सान्सा र नान्सा सामुद्रिक खोज तथा उद्धार केन्द्र स्थापना गर्नुका साथै हवाई तथा सामुद्रिक साधन जोडिएको त्रिआयामिक आपत्कालीन उद्धार प्रणाली विकास गर्दै आएको छ। यसले छिमेकी देशका जहाज र अन्तर्राष्ट्रिय नौवहन मार्गलाई सुरक्षा तथा सार्वजनिक सेवा उपलब्ध गराउन चीनले निर्वाह गरिरहेको भूमिकालाई पुष्टि गरेको उनको भनाइ छ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धार अभियान अझै जारी छ।





