चीन–रुस नौसैनिक गस्तीले जापानको दुईतिहाइ परिक्रमा पूरा गरेको आकलन

ड्रागन मिडिया समाचार कक्ष
चीन र रुसको संयुक्त नौसैनिक गस्ती समूहले जापान वरिपरिको सम्भावित परिक्रमाको करिब दुईतिहाइ यात्रा पूरा गरेको र होक्काइडो नजिकबाट उत्तरपूर्वतर्फ अघि बढेको चिनियाँ सैन्य मामिला विज्ञले बताएका छन्।
जापानको रक्षा मन्त्रालयअन्तर्गत संयुक्त स्टाफले शनिबार सार्वजनिक गरेको विवरणमा चारवटा चिनियाँ तथा रुसी नौसैनिक जहाज होक्काइडोको नासाप्पु अन्तरीपबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वी समुन्द्री क्षेत्रमा उत्तरपूर्वतर्फ अघि बढेको दाबी गरिएको छ।
जापानी संयुक्त स्टाफका अनुसार गस्ती समूहमा चिनियाँ जनमुक्ति सेनाको नौसेनाको टाइप–०५५ निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाज नम्बर १०३, टाइप–०५२डी विध्वंसक जहाज नम्बर १२४ र टाइप–९०३ए बृहत् आपूर्ति जहाज नम्बर ९०३ तथा रुसी नौसेनाको स्टेरेगुस्ची वर्गको फ्रिगेट जहाज नम्बर ३४३ सहभागी छन्। जापानी पक्षले ती जहाजको गतिविधि जुलाई मध्यदेखि निरन्तर अवलोकन गरिरहेको जनाएको छ।
जापानी विवरणअनुसार टाइप–०५५ विध्वंसक जहाज जुलाई २३ मा चिबा प्रान्तको इनुबो अन्तरीपबाट करिब २२० किलोमिटर उत्तरपूर्वमा देखिएको थियो। अन्य तीन जहाज सोही अन्तरीपबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा देखिएका थिए। जुलाई २५ मा चारै जहाज नासाप्पु अन्तरीपको दक्षिणपूर्वी समुन्द्री क्षेत्रमा पुगेका थिए।
जहाजहरू जुलाई १६ मा ओकिनावा र मियाको टापुबीचबाट दक्षिणतर्फ गएको, जुलाई १९ मा ओकिनोतोरिको दक्षिणपश्चिमबाट उत्तरपूर्वतर्फ अघि बढेको तथा जुलाई २१ मा मिनामी इवो जिमाको दक्षिणपूर्व र इवो जिमाको उत्तरपूर्वी समुन्द्री क्षेत्र पार गरेको जापानी संयुक्त स्टाफले दाबी गरेको छ।
चीनको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार पूर्वी चीनको शानतोङ प्रान्तस्थित छिङताओ नजिकका जल तथा हवाई क्षेत्रमा आयोजित ‘जोइन्ट सी–२०२६’ संयुक्त अभ्यास सम्पन्न भएपछि चीन र रुसका केही नौसैनिक बलले प्रशान्त महासागरका सम्बन्धित क्षेत्रमा संयुक्त गस्ती शुरु गरेका हुन्।
चिनियाँ रक्षा मन्त्रालयले उक्त गस्ती दुई देशका सेनाबीचको वार्षिक सहयोग योजनाअन्तर्गत सञ्चालन गरिएको जनाएको छ। मन्त्रालयका अनुसार गस्तीको उद्देश्य सुरक्षा चुनौतीको संयुक्त सामना गर्नु तथा क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्नु हो।
चिनियाँ सैन्य मामिला विज्ञ सोङ चोङपिङले आइतबार ‘ग्लोबल टाइम्स’सँग जापानी पक्षले सार्वजनिक गरेका जहाजका अवस्थिति विवरणका आधारमा संयुक्त गस्ती समूहले जापान वरिपरिको सम्भावित परिक्रमाको करिब दुईतिहाइ यात्रा पूरा गरेको बताए।
उनका अनुसार गस्ती समूह त्सुगारु वा सोया जलडमरूमध्य हुँदै जापान समुन्द्रमा प्रवेश गरी त्यसपछि त्सुशिमा जलडमरूमध्य पार गर्न सक्ने सम्भावना छ। जापानको पूर्ण परिक्रमा पूरा भएमा चीन र रुसका नौसेना सम्बन्धित समुन्द्री क्षेत्रमा तीव्र रूपमा परिचालित भई संयुक्त प्रशिक्षण तथा अन्य सैन्य अभियान सञ्चालन गर्न सक्षम रहेको प्रदर्शन हुने उनले बताए।
चीन र रुसका युद्धपोतले सन् २०२१ को अक्टोबरमा पनि सात दिन लामो संयुक्त गस्तीका क्रममा जापानको परिक्रमा गरेका थिए। त्यसबेला जहाजहरू जापान समुन्द्र, पश्चिमी प्रशान्त महासागर र पूर्वी चीन सागर हुँदै रणनीतिक महत्वका विभिन्न जलडमरूमध्य पार गरेका थिए।
सोङले पछिल्लो संयुक्त अभ्यास र गस्ती अन्तर्राष्ट्रिय कानुनअनुकूल रहेको बताए। उनले ओकिनोतोरि टापु नभई चट्टान भएकाले त्यसका आधारमा विशेष आर्थिक क्षेत्र दाबी गर्न नमिल्ने चिनियाँ धारणा दोहोर्याए।
चीन–रुस संयुक्त अभ्यास तथा गस्तीका क्रममा चिनियाँ सेनाले जापानले आफ्नो विशेष आर्थिक क्षेत्र दाबी गरेको ओकिनोतोरिनजिक वास्तविक गोलाबारी अभ्यास गरेपछि टोकियोले विरोध जनाएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले जुलाई २१ को नियमित पत्रकार सम्मेलनमा जापानको विरोधलाई आधारहीन भन्दै चीनले त्यसलाई दृढतापूर्वक अस्वीकार गरेको बताएका थिए।
लिनका अनुसार संयुक्त राष्ट्रसंघीय समुन्द्री कानुनसम्बन्धी महासन्धिको परिभाषाअनुसार ओकिनोतोरि टापु नभई चट्टान हो र त्यसका आधारमा विशेष आर्थिक क्षेत्र वा महादेशीय तट दाबी गर्न मिल्दैन। उनले ओकिनोतोरिवरिपरि जापानले विशेष आर्थिक क्षेत्र दाबी गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको बताए।
चीनका खुला समुन्द्रमा सञ्चालित गतिविधि अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल रहेको उल्लेख गर्दै लिनले वैध गतिविधिलाई बदनाम गरेर कथित बाह्य खतराको प्रचारमार्फत जापानले पुनःसैन्यीकरण तीव्र बनाउने र युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिने आधार खोजिरहेको आरोप लगाए।
सोङले संयुक्त गस्ती जापानका दक्षिणपन्थी शक्तिप्रति प्रतिरोधात्मक सन्देश पनि भएको बताए। उनले जापानले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता सिर्जना गर्दै काइरो घोषणापत्र र पोट्सडाम घोषणाद्वारा स्थापित युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिइरहेको टिप्पणी गरे।
उनका अनुसार गस्तीको अर्को महत्वपूर्ण उद्देश्य चीन र रुसका नौसेनाको तथाकथित टापु श्रृंखला नाकाबन्दी पार गर्ने तथा रणनीतिक महत्वका जलडमरूमध्यमा परिचालित हुने क्षमता सुदृढ गर्नु हो।
दुवै देशको प्रतिरक्षा क्षमता आधुनिकीकरणसँगै तथाकथित ‘प्रथम टापु श्रृंखला’को अवरोधात्मक प्रभाव वास्तविक रूपमा कमजोर भइसकेको पछिल्लो संयुक्त गस्तीले देखाएको सोङको भनाइ छ।





