सुनसरीको कप्तानगञ्ज झडपमा एकको मृत्यु, पाँच बजारमा कर्फ्यु

ड्रागन मिडिया समाचार कक्ष
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति स्थानीय दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। घटनापछि जिल्ला प्रशासन कार्यालयले जिल्लाको दक्षिणी क्षेत्रका पाँच बजारमा अनिश्चितकालीन कर्फ्यु र हरिनगर तथा देवानगञ्ज गाउँपालिकाभर निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउने सोमबारका अवसरमा सप्तकोशी नदीबाट जल ल्याउन डिजे बाजासहित हिँड्ने तयारीमा रहेका युवाहरूलाई रातिको समयमा चर्को आवाज नबजाउन अर्को पक्षले आग्रह गरेपछि विवाद शुरु भएको थियो। सामान्य भनाभनले उग्र रूप लिएपछि स्थानीय हिन्दु र मुस्लिम समुदायका केही युवाबीच ढुंगामुढा, तोडफोड र आक्रमण भएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। प्रहरीले शुरुमा अश्रुग्यास र हवाई फायर गरे पनि भिड नियन्त्रणमा नआएपछि राति करिब १०ः४५ बजे सशस्त्र प्रहरीको टोलीबाट गोली चलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्। गोली किन र कति राउन्ड चलाइएको थियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ। घटनामा देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहतासहित नौ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
झडपमा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित नेपाल प्रहरीका आठ जना घाइते भएका छन्। राईको टाउकोमा चोट लागेपछि पाँचवटा टाँका लगाइएको छ। सशस्त्र प्रहरी बलका पाँच जना पनि घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। यसअनुसार घटनामा नौ सर्वसाधारण र १३ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।
घटनापछि कोशी प्रदेश प्रहरी गण, नेपाल प्रहरी विशेष सुरक्षा गण, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट २११ जना नेपाल प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका थप १६५ जना सुरक्षाकर्मीसमेत घटनास्थल र आसपासका क्षेत्रमा खटाइएको प्रहरीले जनाएको छ। हाल दुवै पक्षलाई अलग–अलग स्थानमा राखेर छलफल तथा सम्झाइबुझाइ भइरहेको र अवस्था नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजारका तोकिएका क्षेत्रमा अर्को आदेश नभएसम्म कर्फ्यु जारी गरेका छन्। कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस, प्रदर्शन तथा सभा–समारोह गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा सोमबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञासमेत जारी गरेको छ। निषेधाज्ञा अवधिमा एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। जिल्ला प्रशासनले सबै पक्षलाई संयमित रहन, सामाजिक सद्भाव कायम गर्न, अपुष्ट सूचना तथा अफवाह नफैलाउन र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।





