साउनको दोस्रो सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
ड्रागन मिडिया समाचार कक्ष
साउन महिनाको दोस्रो सोमबारका अवसरमा बिहानैदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयमा पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।
साउने झरीको परवाह नगरी श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शन, पूजा तथा जल चढाउन विभिन्न शिव मन्दिर पुगेका छन्। पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउन बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको छ। मन्दिरका ढोका साँझको आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजाको समय बिहान ८ः३० देखि मध्याह्न १२ बजेसम्म निर्धारण गरिएको छ।
साउन ४ गते परेको पहिलो सोमबारको अनुभवका आधारमा यसपटक दर्शन व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको कोषले जनाएको छ। मन्दिर प्रवेशका लागि विभिन्न दिशाबाट छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएकाले बिहानैदेखि ठूलो संख्यामा भक्तजन उपस्थित भए पनि लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था कम भएको छ।
कोषले सामान्य दर्शन, बोलबम यात्री, विशेष पूजा तथा वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्ति र बालबालिकाका लागि पृथक प्रवेश मार्गको व्यवस्था गरेको छ। गुह्येश्वरी, गौरीघाट, जयबागेश्वरी, पिङ्गलास्थान, तिलगङ्गा र भुवनेश्वरी क्षेत्रबाट दर्शनार्थीलाई मन्दिर प्रवेश गराउने प्रबन्ध मिलाइएको छ।
भक्तजनको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राखेर पशुपति क्षेत्रमा एम्बुलेन्स, प्राथमिक उपचार, मोबाइल शौचालय, पिउने पानी, जुत्ता चप्पल राख्ने कक्ष र पार्किङको व्यवस्था गरिएको छ। पञ्चदेवल, भुवनेश्वरी चोक, उमाकुण्ड र जयबागेश्वरी क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराइएको कोषले जनाएको छ।
दर्शन व्यवस्थापनलाई चुस्त बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक सङ्घसंस्थाका स्वयंसेवक परिचालन गरिएको छ।
साउन महिनामा भगवान् शिवको व्रत बस्ने, शिवलिङ्गमा जल, दूध तथा बेलपत्र चढाउने र पूजाआराधना गर्ने धार्मिक परम्परा छ। विशेष गरी साउने सोमबार पशुपतिनाथमा नेपालका विभिन्न भागका साथै भारतबाट समेत बोलबम यात्री तथा श्रद्धालु आउने गरेका छन्।
पशुपतिनाथका अतिरिक्त काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित मक्खन महादेव र भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ।
देशका अन्य साना तथा ठूला शिवालयमा पनि भक्तजनले व्रत, पूजा, रुद्राभिषेक र जलार्पण गर्दै साउनको दोस्रो सोमबार मनाइरहेका छन्।





