१९ भाद्र २०८३, शुक्रबार

अमेरिकाले क्युबा नियन्त्रणमा लिन खोजेको डियाज–कानेलको आरोप

ड्रागन मिडिया समाचार कक्ष

क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले अमेरिकाले आर्थिक दबाबमार्फत क्युबालाई नियन्त्रणमा लिन खोजेको आरोप लगाउँदै राष्ट्रिय सार्वभौमिकताको दृढतापूर्वक रक्षा गर्न आह्वान गरेका छन्।

क्युबाली राष्ट्रपति कार्यालयका अनुसार पश्चिमी प्रान्त पिनार डेल रियोमा आइतबार आयोजित ७३औँ राष्ट्रिय विद्रोह दिवस समारोहलाई सम्बोधन गर्दै डियाज–कानेलले अमेरिकाले सम्पूर्ण जनतालाई आर्थिक रूपमा निसास्याएर देशमाथि नियन्त्रण कायम गर्ने नीति अपनाएको बताए।

उनले अमेरिकी सरकारले क्युबाली जनताविरुद्ध ‘अधिकतम आर्थिक घेराबन्दी’को नीति लागू गर्दै छ दशकभन्दा लामो नाकाबन्दीलाई ऊर्जा प्रतिबन्ध र वित्तीय घेराबन्दीमार्फत थप कठोर बनाएको आरोप लगाए।

डियाज–कानेलका अनुसार ती कदमले क्युबाको विद्युत प्रणालीमा गम्भीर संकट उत्पन्न गरेको छ। एक दिनभन्दा लामो समयसम्म विद्युत अवरुद्ध हुने, औद्योगिक गतिविधि ठप्प हुने तथा स्वास्थ्य सेवा र जनजीवन प्रभावित हुने अवस्था सिर्जना भएको उनले बताए।

उनले नाकाबन्दीलाई युद्धको हतियारको संज्ञा दिँदै आर्थिक कठिनाइ सिर्जना गरेर क्युबाली जनतालाई आफ्नै सरकारविरुद्ध उक्साउने प्रयास अपराध भएको बताए। अमेरिकी आर्थिक, व्यापारिक तथा वित्तीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघीय महासभाले वर्षेनि प्रस्ताव पारित गर्दै आएको उनले स्मरण गराए।

अमेरिकी प्रतिबन्धले औषधि, स्वास्थ्य उपकरण र उपचारमा परेको प्रभाव उल्लेख गर्दै डियाज–कानेलले क्युबा ‘विचारपूर्वक योजनाबद्ध नरसंहारको शिकार’ भएको आरोप लगाए।

क्युबा आफ्नो सार्वभौमिकता र शासन प्रणाली स्वतन्त्र रूपमा चयन गर्ने अधिकारका लागि दृढतापूर्वक संघर्ष गरिरहेको उल्लेख गर्दै उनले बाह्य दबाबसामु देशले आत्मसमर्पण नगर्ने बताए।

डियाज–कानेलले क्युबा कुनै देशका लागि खतरा नभएको उल्लेख गर्दै आफ्नो देशले अन्यत्र विनाश सिर्जना गर्ने काम नगरी चिकित्सक, शिक्षक तथा मानवीय सहायता पठाएर जीवन रक्षा गर्दै आएको बताए।

उनले हालै स्वीकृत १७६ उपाय समेटिएको सरकारी कार्यक्रम कार्यान्वयन गर्नु देशको रणनीतिक प्राथमिकता भएको जानकारी दिए। कार्यक्रमअन्तर्गत विभिन्न व्यवस्थापन प्रणाली प्रवर्द्धन गर्ने, श्रमिक र किसानलाई प्रोत्साहन गर्ने तथा जिम्मेवार लगानीका लागि थप अवसर सिर्जना गरिने उनले बताए।

अमेरिकी नाकाबन्दीको सामना बुद्धिमत्ता, प्रभावकारी काम र उत्पादनमार्फत गरिने उल्लेख गर्दै डियाज–कानेलले अलगाव र विभाजनको प्रयासलाई राष्ट्रिय एकताबाट परास्त गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय विद्रोह दिवसले सन् १९५३ जुलाई २६ मा फिडेल कास्त्रो र उनका करिब एक सय सहयोगीले सान्टियागो डी क्युबास्थित मोन्कादा सैनिक ब्यारेक तथा बायामोस्थित कार्लोस मानुएल दे सेस्पेदेस ब्यारेकमाथि गरेको आक्रमणको स्मरण गर्छ। तत्कालीन फुल्हेन्सियो बातिस्ता शासनविरुद्धको उक्त असफल कारबाहीलाई सन् १९५९ मा सफल भएको क्युबाली क्रान्तिको शुरुवाती बिन्दु मानिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button