दक्षिण कोरियाको विदेशी मुद्रा निक्षेप लगातार तेस्रो महिना बढ्यो

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी डलरप्रतिको माग बढेपछि दक्षिण कोरियाको विदेशी मुद्रा निक्षेप लगातार तेस्रो महिना वृद्धि भएको छ।
दक्षिण कोरियाको केन्द्रीय बैंक ‘बैंक अफ कोरिया’ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुन अन्त्यसम्म विदेशी मुद्रामा राखिएको कुल निक्षेप अघिल्लो महिनाको तुलनामा १ अर्ब ८ करोड अमेरिकी डलरले बढेर १ खर्ब १३ अर्ब ३३ करोड डलर पुगेको छ। यस्तो निक्षेप अप्रिलदेखि निरन्तर बढिरहेको छ।
ठूला कम्पनीले निर्यातबाट प्राप्त रकम अमेरिकी डलरमा जम्मा गर्नु र विदेशका धितोपत्रमा लगानी गर्न ग्राहकले डलर निक्षेप बढाउनु समग्र वृद्धिका मुख्य कारण रहेको बैंक अफ कोरियाले जनाएको छ।
अमेरिकी डलरमा राखिएको निक्षेप एक महिनामा २ अर्ब २५ करोड डलरले बढेर ९७ अर्ब ८० करोड डलर पुगेको छ।
यसको विपरीत जापानी येनमा राखिएको निक्षेप ४१ करोड डलरले घटेर ७ अर्ब १२ करोड डलरमा सीमित भएको छ। युरोमा राखिएको निक्षेप ४६ करोड डलरले घटेर ५ अर्ब ८४ करोड डलर तथा चिनियाँ युआनमा राखिएको निक्षेप २ करोड डलरले घटेर १ अर्ब २७ करोड डलर पुगेको छ।
कम्पनीहरूको स्वामित्वमा रहेको विदेशी मुद्रा निक्षेप १ अर्ब ५८ करोड डलरले बढेर ९८ अर्ब ९९ करोड डलर पुगेको छ। व्यक्तिगत निक्षेप भने ५० करोड डलरले घटेर १४ अर्ब ३३ करोड डलरमा झरेको बैंक अफ कोरियाको तथ्याङ्कमा उल्लेख छ।





