२० भाद्र २०८३, शनिबार

नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग उद्घाटन

ड्रागन मिडिया समाचार कक्ष

निर्माण शुरु भएको करिब सात वर्षपछि नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँको दहचोक क्षेत्रलाई धादिङको सिस्नेखोलासँग जोड्ने सुरुङमार्ग उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपालका लागि जापानी राजदूत माएदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपाल र जापानका वरिष्ठ अधिकारी सहभागी थिए।

सडक विभागका अनुसार सुरुका केही दिन सुरुङको सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र प्राविधिक उपकरणको परीक्षण गरिनेछ। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ।

परीक्षण सफल भएपछि सुरुङलाई अन्य अनुमति प्राप्त सवारीसाधनका लागि चरणबद्ध रूपमा खुला गरिनेछ। परीक्षण अवधिमा सवारीसाधनबाट शुल्क नलिइने र नियमित सञ्चालन शुरु भएपछि सरकारले निर्धारण गरेको शुल्क लागू हुने विभागले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते आयोजनाको शिलान्यास गरेका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा २०८१ वैशाख ३ गते मुख्य सुरुङको ‘ब्रेकथ्रु’ गरिएको थियो।

जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ। समानान्तर रूपमा निर्माण गरिएको उद्धार सुरुङ दुई हजार ५५७ मिटर लामो छ।

निर्माण सम्झौताअनुसार आयोजना अप्रिल २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य थियो। तर कोभिड–१९ महामारी, स्थानीय अवरोध, जग्गा तथा पानीका श्रोतसम्बन्धी विवाद, प्राविधिक जटिलता र पहिरो नियन्त्रणका कामका कारण निर्माण अवधि लम्बिएको थियो।

आयोजनाको प्रारम्भिक लागत करिब २२ अर्ब रुपैयाँ थियो, जसको ठूलो हिस्सा जापान सरकारको सहुलियतपूर्ण ऋणबाट जुटाइएको हो। निर्माण अवधि र लागत बढेपछि जाइकाले सन् २०२६ जुनमा थप पाँच अर्ब ७० करोड जापानी येनको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्झौता गरेको थियो।

सुरुङमार्ग सञ्चालन, नियमित मर्मत, ट्राफिक व्यवस्थापन, आकस्मिक उद्धार र शुल्क सङ्कलनको जिम्मेवारी चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटीको संयुक्त उद्यम युसिन–एआरटी जेभीले पाएको छ। कम्पनीले पाँच वर्षसम्म सुरुङ सञ्चालन गर्नेछ।

सुरुङभित्र पैदलयात्री, मोटरसाइकल, स्कुटर र तीनपाङ्ग्रे सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। पेट्रोलियम पदार्थ, प्रज्वलनशील वस्तु तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनले पनि सुरुङ प्रयोग गर्न पाउने छैनन्।

पूर्ण व्यावसायिक सञ्चालन शुरु भएपछि कार, जिप, भ्यान, पिकअप, माइक्रोबस, मिनीबस, बस, ट्रक र अन्य अनुमति प्राप्त चारपाङ्ग्रे सवारीसाधन सुरुङमार्गबाट सञ्चालन हुन पाउनेछन्।

सरकारले काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीका लागि पृथक शुल्क निर्धारण गरेको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौँ प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनीबस, मिनी ट्रक तथा मिनी टिपरले प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकले प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

मल्टी एक्सल ट्रक, भारी सवारी तथा उपकरणले प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

अहिले सिस्नेखोलाबाट नागढुंगा हुँदै बलम्बुसम्मको सडक दूरी करिब आठ किलोमिटर छ। सुरुङमार्ग प्रयोग गर्दा यो दूरी करिब पाँच किलोमिटरमा सीमित हुने र झन्डै २.८ किलोमिटर दूरी घट्ने आयोजनाको अनुमान छ।

सडक विभागका अनुसार सुरुङमार्ग प्रयोग गर्दा काठमाडौँतर्फ प्रवेश गर्ने सवारीको करिब ३३ मिनेट र बाहिरिने सवारीको करिब २३ मिनेट समय बचत हुन सक्छ। सामान्य अवस्थामा सुरुङ पार गर्न करिब सात मिनेट लाग्ने अनुमान छ।

नागढुंगा उकालोमा नियमित रूपमा हुने सवारी जाम, लामो प्रतीक्षा र उकालो सडकका कारण ठूलो परिमाणमा इन्धन खपत हुँदै आएको छ। सुरुङ सञ्चालनपछि यात्रा समय, इन्धन खपत र सवारी मर्मत खर्च घट्ने अपेक्षा गरिएको छ।

आयोजनामा मुख्य र उद्धार गरी दुईवटा सुरुङ छन्। मुख्य सुरुङबाट करिब ३० मिटरको दूरीमा रहेको उद्धार सुरुङ आपत्कालीन अवस्थामा एम्बुलेन्स, दमकल तथा उद्धार टोलीले प्रयोग गर्न सक्ने गरी निर्माण गरिएको छ।

मुख्य र उद्धार सुरुङलाई सात स्थानमा ‘क्रस प्यासेज’ले जोडिएको छ। दुर्घटना, आगलागी वा अन्य आपत्कालीन अवस्थामा यात्रुलाई ती मार्गबाट सुरक्षित स्थानमा निकाल्न सकिनेछ।

सुरुङमा सिसिटिभी क्यामरा, सञ्चार प्रणाली, जेट फ्यान, भेन्टिलेसन, आगो नियन्त्रण उपकरण, अक्सिजन तथा वायुको गुणस्तर मापन प्रणाली, आकस्मिक टेलिफोन र चौबीसै घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष राखिएका छन्।

चिनियाँ–नेपाली संयुक्त उद्यम युसिन–एआरटी जेभीले पाँच वर्षसम्म सुरुङको सञ्चालन, मर्मत, ट्राफिक व्यवस्थापन, आकस्मिक उद्धार र शुल्क सङ्कलन गर्नेछ। सुरुङलाई चौबीसै घण्टा सञ्चालन गर्न करिब १५० कर्मचारी परिचालन गर्ने व्यवस्था गरिएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको मुख्य पश्चिमी प्रवेशद्वारमा हुने जाम कम हुने, यात्राको सुरक्षा बढ्ने तथा मानिस र मालवस्तुको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button