गैंडाकोटमा अचेत भेटिएका दुई महिलाको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष
नवलपुरको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिरनजिक अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भोजपुर घर भई गैंडाकोट–१० स्थित गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई र बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट–१२, हर्कपुरमा बस्दै आएकी ३८ वर्षीया कविता राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार स्थानीयले आइतबार मन्दिरनजिकको चौरमा दुवैलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको टोलीले उद्धार गरी नगर अस्पताल भेडाबारी पुर्याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतकहरूको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट बरामद गरिएको छ।
दुवै महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको छ। घटना शंकास्पद देखिएकाले आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।





