२० भाद्र २०८३, शनिबार

कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि नेपाली सेना परिचालन

ड्रागन मिडिया समाचार कक्ष

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेनाको टोली परिचालन गरिएको छ।

स्थानीय प्रशासनका अनुसार प्रदर्शनकारीले सोमबार बिहानदेखि कर्फ्यु उल्लङ्घन गर्दै विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै आगजनी र तोडफोड शुरु गरेपछि स्थिति नियन्त्रणमा लिन सेना खटाइएको हो। सेनाको टोली घटनास्थल पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणउन्मुख बनेको प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्र खड्काले सुरक्षा निकायले अवस्था सामान्य बनाउने प्रयास गरिरहेको बताए। घटनास्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उपस्थिति बढाइएको छ।

कप्तानगञ्जमा आइतबार राति दुई स्थानीय समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

गोली लागेका नौ जना सर्वसाधारण विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। झडपमा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगर र सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले थप हिंसा रोक्न सोमबार बिहान ७ बजेदेखि हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजारका तोकिएका क्षेत्रमा अर्को आदेश नभएसम्म कर्फ्यु जारी गरेको थियो।

कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस, प्रदर्शन तथा सभा–समारोह गर्न रोक लगाइएको छ। तर आदेश उल्लङ्घन गर्दै प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो।

स्थानीय प्रशासनले सबै पक्षलाई संयमित रहन, अफवाह तथा अपुष्ट सूचना नफैलाउन र सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button