दिल्ली भ्रमण र डोभालसँग भेटको दाबी बेनद्वारा अस्वीकार

ड्रागन मिडिया समाचार कक्ष
प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार ‘बेन’ले आफू नयाँ दिल्ली नगएको र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता नगरेको बताएका छन्।
बेनले देश सञ्चारसँग भने, “मैले डोभाललाई भेटेको छैन। म दिल्ली गएको पनि छैन।”
केही नेपाली तथा भारतीय सञ्चारमाध्यमले बेन जुलाईको पहिलो साता गोप्य रूपमा नयाँ दिल्ली पुगेर डोभाल तथा भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको दाबी गर्दै समाचार प्रकाशित गरेपछि उनले त्यसको खण्डन गरेका हुन्।
कान्तिपुर र काठमाडौं पोस्टले परराष्ट्र मन्त्रालयका विभिन्न श्रोतलाई उद्धृत गर्दै बेन नयाँ दिल्ली गएको दाबी गरेका छन्। ती समाचारअनुसार उनी जुलाई ३ मा बुद्ध एयरको उडानबाट सिमरा पुगेका थिए र त्यहाँबाट स्थलमार्ग हुँदै भारत गएको भनिएको छ। बेनले भने सिमरा गएको स्वीकार गरे पनि भारत प्रवेश नगरेको र हेटौँडा तथा चितवनतर्फ गएको बताएका छन्।
डोभालसँगको भेटबारे सोधिएको प्रश्नमा बेनले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरे। परराष्ट्र मन्त्रालयका श्रोतले उनको भ्रमणबारे जानकारी रहेको दाबी गरेका विषयमा उनले भने, “यसबारेमा तपाईंले परराष्ट्रलाई सोध्नुपर्छ।”
काठमाडौं पोस्टका अनुसार बेनले डोभालसँग भेटेको विषय स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। उक्त समाचारमा उद्धृत एक कूटनीतिक श्रोतले उनले डोभाललाई नभई भारतीय विदेश मन्त्रालय र गुप्तचर निकायका केही वरिष्ठ अधिकारीलाई भेटेको दाबी गरेको छ। तर नेपाल सरकार, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय वा भारतीय पक्षले कथित भ्रमण र भेटवार्ताबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।
यसअघि केही सञ्चारमाध्यमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणपछि प्रधानमन्त्री शाहले दिल्लीसँग संवाद बढाउन बेनलाई पठाएको दाबी गरेका थिए। बेनले भने त्यस्तो भ्रमण वा जिम्मेवारी दुवै अस्वीकार गरेका छन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको सम्भावित विदेश भ्रमण औपचारिक कूटनीतिक संयन्त्रबाहिर भएको हो वा होइन भन्ने प्रश्नले राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो बढाएको छ। दाबी र खण्डन परस्पर विरोधी रहेकाले यात्रा अभिलेख तथा सम्बन्धित सरकारी निकायको औपचारिक विवरण सार्वजनिक नभएसम्म बेनको दिल्ली भ्रमण र उच्चस्तरीय भेटवार्ता पुष्टि भएको मान्न सकिने अवस्था छैन।





