१९ भाद्र २०८३, शुक्रबार

छिङहाइमा ४४औँ युशु घोडादौड महोत्सव शुरु

ड्रागन मिडिया समाचार कक्ष

चीनको छिङहाइ प्रान्तस्थित युशु तिब्बती स्वायत्त प्रिफेक्चरमा सन् २०२६ को ‘सानचियाङयुआन पारिस्थितिक संस्कृति तथा पर्यटन महोत्सव’ एवं ४४औँ युशु घोडादौड महोत्सव भव्य समारोहबीच शुरु भएको छ।

छिङहाइ दैनिकका अनुसार जुलाई २५ मा युशु तिब्बती स्वायत्त प्रिफेक्चरको बृहत् रङ्गशालामा आयोजित उद्घाटन समारोहमा स्थानीय कलाकार, घोडचढी टोली र सर्वसाधारणको व्यापक सहभागिता थियो। राष्ट्रिय झण्डोत्तोलन र राष्ट्रगानपछि घोडसवार समूहले मैदानमा प्रवेश गर्दै महोत्सवको औपचारिक शुरुवात गरेको थियो।

‘सहस्राब्दीदेखि जीवनवृक्षको संरक्षण, हजारौँ घोडाबाट समृद्ध युगको स्तुति’ भन्ने मूल भावमा आयोजित उद्घाटन प्रस्तुतिले सानचियाङयुआन क्षेत्रको पारिस्थितिक संरक्षण, तिब्बती संस्कृति, घुमन्ते जीवनशैली र युशुको सामाजिक तथा आर्थिक विकासलाई समेटेको थियो।

आयोजकका अनुसार उद्घाटन सांस्कृतिक प्रस्तुति जीवनको उत्पत्ति, जीवनको प्रकाश, जीवनवृक्ष, जीवनको लय र जीवनको स्तुतिसँग सम्बन्धित विभिन्न खण्डमा विभाजन गरिएको थियो। युशुका शहर तथा पाँच काउन्टीबाट आएका छ हजारभन्दा बढी कलाकारले सामूहिक नृत्य, लोकसङ्गीत, परम्परागत पोषाक र सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।

छिङहाइ दैनिकले भने उद्घाटन कार्यक्रममा कुल छ हजार दुई सयभन्दा बढी कलाकार सहभागी भएको जनाएको छ। प्रस्तुतिमा सानचियाङयुआनको जलपूजा परम्परा, पठारी घुमन्ते सभ्यता, प्राचीन थाङ–तिब्बत मार्ग, राजा गेसारको महाकाव्य तथा खख्सिली क्षेत्रका पर्यावरण संरक्षकहरूको योगदान चित्रण गरिएको थियो।

परम्परागत घोडचढी कौशल महोत्सवको मुख्य आकर्षण बनेको थियो। घोडा दौडाउँदै निशाना लगाउने, घोडामाथि उल्टो उभिने, दौडिरहेको घोडाबाट खादाक उठाउने, दुई घोडामा एकसाथ सवार हुने तथा समूहगत घोडचढी प्रदर्शनले दर्शकको ध्यान खिचेको चाइना न्युज सर्भिसले जनाएको छ।

कार्यक्रममा स्थानीय यी नृत्य, चो नृत्य, रेपा नृत्य, लोकगीत तथा अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न प्रस्तुति पनि समावेश थिए। सांस्कृतिक कार्यक्रमले युशुको गहिरो खाम्बा सांस्कृतिक परम्परा, पर्यावरण संरक्षण तथा आधुनिक विकासबीचको सम्बन्ध प्रस्तुत गरेको थियो।

युशु तिब्बती स्वायत्त प्रिफेक्चरकी प्रमुख लोङछोले घोडादौड महोत्सव घोडामा आधारित समुदायको पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक उत्सव मात्र नभई युशुको पर्यावरण संरक्षण उपलब्धि र बाह्य सांस्कृतिक आदानप्रदान प्रदर्शन गर्ने महत्वपूर्ण माध्यम भएको बताइन्।

उनका अनुसार युशुले महोत्सवलाई संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र जनताको आय वृद्धिसँग जोड्दै स्थानीय पर्यावरणीय तथा सांस्कृतिक श्रोतलाई आर्थिक र औद्योगिक लाभमा रूपान्तरण गर्ने प्रयास गरिरहेको छ।

युशु पहेँलो नदी, याङ्त्से नदी र लानछाङ नदीको उद्गम क्षेत्र सानचियाङयुआनमा अवस्थित छ। यहाँको जल संस्कृति, पठारी पशुपालक जीवन, प्राचीन कृषि परम्परा, थाङ–तिब्बत ऐतिहासिक मार्ग र खाम्बा संस्कृति यस क्षेत्रका प्रमुख सांस्कृतिक पहिचान हुन्।

युशुको परम्परागत घोडादौड महोत्सवको इतिहास एक हजार तीन सय वर्षभन्दा पुरानो मानिन्छ। यसलाई सन् २००८ मा चीनको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको दोस्रो सूचीमा समावेश गरिएको थियो।

मुख्य घोडादौड कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। यस अवधिमा जातीय घोडचढी प्रदर्शन, ‘गेसार कप’ घोडादौड, स्थानीय खेलकुद, फुटबल प्रतियोगिता, युशु शहरका विशेष सांस्कृतिक प्रस्तुति तथा सर्वसाधारण सहभागी हुने विभिन्न कार्यक्रम आयोजना गरिनेछन्।

महोत्सवसँग सम्बन्धित विस्तारित सांस्कृतिक तथा पर्यटन गतिविधि भने अगस्टको मध्यदेखि अन्तिम सातासम्म जारी रहनेछन्। त्यसअन्तर्गत वन्यजन्तु फोटोग्राफी प्रदर्शनी, अन्तर्राष्ट्रिय दृश्य सामग्री कार्यक्रम, लोकगीत, सामूहिक नृत्य र अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ।

आयोजकले महोत्सवमार्फत सानचियाङयुआनको पर्यावरणीय सौन्दर्य, तिब्बती सांस्कृतिक सम्पदा, परम्परागत घोडचढी शीप र युशुको विकास उपलब्धिलाई देश तथा विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button