पार्टी निर्माणमा सी चिनफिङको अवधारणा उपयोगी : विज्ञहरू

ड्रागन मिडिया समाचार कक्ष
नेपालसहित विश्वका राजनीतिक दलको निर्माण र प्रभावकारी सञ्चालनका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेका अनुशासन, आत्मसमीक्षा, जनकेन्द्रित शासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी अवधारणा उपयोगी हुन सक्ने विज्ञहरूले बताएका छन्।
फ्रेन्ड्स अन क्लाउडले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ जगन्नाथ खतिवडा, परराष्ट्र मामिला विज्ञ डा. गोपाल खनाल, पूर्वराजदूत महेशराज दाहाल, अनुसन्धानकर्ता डा. दीपक देवकोटा र संस्थाका अध्यक्ष शोभित उप्रेतीले राष्ट्रपति सीको पार्टी निर्माणसम्बन्धी अवधारणाका विभिन्न आयामबारे धारणा राखेका हुन्।
पूर्वराजदूत दाहालले राष्ट्रपति सीको अध्ययनशील स्वभाव, दीर्घकालीन दृष्टिकोण र जनस्तरको अनुभव पार्टी तथा राष्ट्र निर्माणको महत्वपूर्ण आधार बनेको बताए।
उनका अनुसार कठिन परिस्थितिमा रहँदा पनि सीले अध्ययनलाई निरन्तरता दिएका थिए। पार्टी सदस्यता प्राप्त गर्नसमेत लामो संघर्ष गर्नुपरेकाले पार्टी कस्तो हुनुपर्छ र नेतृत्व तथा सदस्यको जिम्मेवारी के हुनुपर्छ भन्ने विषयमा उनले गहिरो अनुभव हासिल गरेको दाहालले बताए।
स्पष्ट दृष्टिकोण, सिर्जनशीलता र परिवर्तनकारी सोच भएको नेतृत्वले पार्टी र देश निर्माण गर्न सक्छ भन्ने कुरा सीले प्रमाणित गरेको उनको धारणा थियो। भ्रष्टाचारविरोधी अभियान, पार्टीभित्रको शुद्धता, नेतृत्वको जिम्मेवारी र कर्तव्य, प्रविधिको विकास, विज्ञानमा लगानी तथा जनसहभागिता सीको पार्टी निर्माण अवधारणाका प्रमुख आधार रहेको दाहालले बताए।
अनुसन्धानकर्ता डा. देवकोटाले राज्यप्रति डर नभई जनतामा भरोसा जगाउने शासन प्रणाली निर्माण गरेर राष्ट्रपति सीले सफलता प्राप्त गरेको बताए। जनतालाई केन्द्रमा राखेर पार्टी र देश निर्माण गर्ने नीति तथा व्यवहारले चिनियाँ नेतृत्वप्रति जनविश्वास बढाएको उनको भनाइ थियो।
जनताले विश्वास गर्न सक्ने पार्टी निर्माणका लागि सुशासन, सार्वजनिक सुरक्षा, उत्तरदायी नेतृत्व र जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्याको समाधानलाई प्राथमिकता दिनुपर्नेमा सीको अवधारणाले जोड दिएको देवकोटाले बताए।
परराष्ट्र मामिला विज्ञ डा. खनालले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद, पार्टीको कठोर आन्तरिक सुशासन र विश्वव्यापी शासनसम्बन्धी अवधारणा राष्ट्रपति सीको पार्टी निर्माण दृष्टिकोणका महत्वपूर्ण पक्ष भएको बताए।
चीनमा आर्थिक अनियमितता तथा पार्टी अनुशासन उल्लङ्घनमा संलग्न ७० लाखभन्दा बढी व्यक्तिमाथि कारबाही गरिएको विवरण प्रस्तुत गर्दै खनालले सीको नेतृत्वमा सञ्चालित सुशासन तथा भ्रष्टाचारविरोधी अभियानको प्रशंसा गरे।
राजनीतिज्ञ खतिवडाले अनुशासन, नियमित अनुगमन र आत्मसमीक्षाको सूत्र नै राष्ट्रपति सीको पार्टी तथा देश निर्माणको आधारशीला रहेको बताए।
राजनीतिक दलभित्र नीति, नेतृत्व र कार्यसम्पादनको नियमित समीक्षा गर्ने प्रणाली कमजोर हुँदा संगठन जनताबाट टाढिने भएकाले आत्मसुधारको अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
खतिवडाले कुनै पनि पार्टीको प्रभावकारिता संगठन विस्तार वा सदस्य संख्याले मात्र निर्धारण नगर्ने उल्लेख गर्दै विचार, अनुशासन, जिम्मेवारी, कार्यसम्पादन र जनताप्रतिको उत्तरदायित्वलाई समान प्राथमिकता दिनुपर्ने बताए।
फ्रेन्ड्स अन क्लाउडका अध्यक्ष उप्रेतीले विभिन्न देशका राजनीतिक तथा शासनसम्बन्धी अनुभवमाथि खुला छलफल गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए। चीनको पार्टी निर्माण अनुभवलाई हुबहु अनुकरण गर्नुभन्दा त्यसका अनुशासन, जनउत्तरदायित्व, आत्मसमीक्षा, दीर्घकालीन योजना र भ्रष्टाचार नियन्त्रणका उपयोगी पक्षलाई नेपालको राजनीतिक तथा सामाजिक परिवेशअनुसार अध्ययन गर्न सकिने उनको धारणा थियो।
कार्यक्रमका वक्ताहरूले राजनीतिक दल प्रभावकारी बन्न स्पष्ट विचार, सक्षम संगठन, आन्तरिक अनुशासन, नियमित मूल्याङ्कन, जनसहभागिता, प्रविधिको उपयोग र भ्रष्टाचारप्रति शून्य सहनशीलता आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरेका थिए।





