चिनियाँ एनिमेसन ‘अल विशेज कम ट्रु!’ को कमाइ ६६.८ करोड युआन

ड्रागन मिडिया समाचार कक्ष
चीनको प्राचीन ताओवादी किंवदन्ती ‘आठ अमरले समुन्द्र पार गरेको’ कथालाई नयाँ पुस्ताको दृष्टिकोणबाट प्रस्तुत गरिएको एनिमेसन चलचित्र ‘अल विशेज कम ट्रु!’ चीनको ग्रीष्मकालीन बक्स अफिसमा प्रमुख सफलतामध्ये एक बनेको छ।
चिनियाँ भाषामा ‘पा सियान!’ अर्थात् ‘आठ अमर’ नाम दिइएको चलचित्रले जुलाई १८ मा प्रदर्शन शुरु भएको पाँच दिनभित्र ४० करोड युआन कमाएको थियो। चलचित्र तथ्याङ्क मञ्च माओयानका अनुसार आइतबार बिहानसम्म यसको कुल बक्स अफिस आम्दानी ६६.८ करोड युआन पुगेको सिन्ह्वाले जनाएको छ। समीक्षा मञ्च डुबानमा चलचित्रले प्रारम्भिक रूपमा १० मध्ये ८.३ अङ्क प्राप्त गरेको थियो।
परम्परागत कथाहरूमा आठ अमरलाई अलौकिक शक्तिसम्पन्न देवताका रूपमा प्रस्तुत गरिन्छ। चलचित्रले भने उनीहरू अमर बन्नुअघिको जीवन कल्पना गर्दै सामान्य, अपूर्ण र स्वार्थ भएका मानिसका रूपमा चित्रण गरेको छ। उनीहरूको व्यक्तिगत रूपान्तरण, जिम्मेवारीबोध र न्यायका पक्षमा उभिने साहसलाई कथाको केन्द्रमा राखिएको छ।
चलचित्रको काल्पनिक फङलाई संसारमा देवताहरूलाई प्राप्त धूपदान र चढावाका आधारमा स्तर निर्धारण गरिन्छ। उनीहरूको कार्यसम्पादन आधुनिक संस्थाका कर्मचारीको जस्तै प्रमुख कार्यसम्पादन सूचक अर्थात् केपीआईबाट मूल्याङ्कन गरिन्छ। यसरी प्राचीन मिथकीय संसारलाई आधुनिक कार्यालयतन्त्रसँग जोडेर हास्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
मानव संसारमा ठूलो विपद आउन लागेपछि ल्युइ तोङपिन फङलाई पुग्छन्। त्यहाँ आठ असमान स्वभाव र पृष्ठभूमिका पात्र अमर भएको अभिनय गर्दै बहुमूल्य वस्तु राखिएको भण्डारमा प्रवेश गर्ने योजनामा जोडिन्छन्। शुरुमा व्यक्तिगत लाभबाट प्रेरित उनीहरू निर्दोष मानिसको जीवन संकटमा परेपछि स्वार्थभन्दा न्यायलाई प्राथमिकता दिन थाल्छन्। अन्ततः जनताको रक्षा गरेपछि उनीहरूले अमरको पहिचान प्राप्त गर्छन्।
चलचित्रका निर्देशक तथा पटकथाकार मौ चङयाङले सर्वशक्तिमान देवताको सट्टा कमजोरी भएका युवा र सामान्य मानिसका रूपमा पात्रहरूलाई पुनःपरिभाषित गर्नु दर्शकसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने सचेत प्रयास भएको बताएका छन्। उनका अनुसार चलचित्रमा वास्तविक अमरत्व अलौकिक शक्तिबाट नभई आन्तरिक रूपान्तरण, व्यक्तिगत विकास र जिम्मेवारीबोधको जागरणबाट प्राप्त हुन्छ।
चाइना एनिमेसन कमिक गेम ग्रुपका सोङ लेईले फङलाईलाई आधुनिक कार्यालयतन्त्रका रूपमा प्रस्तुत गर्ने प्रयोगले परम्परागत किंवदन्तीलाई खजाना खोज्ने, आफ्नो पहिचान पत्ता लगाउने र जिम्मेवार बन्ने हल्का हास्यकथामा रूपान्तरण गरेको बताए। यसले पुरानो लोककथालाई समकालीन जीवनसँग जोडेको उनको भनाइ छ।
चलचित्रले चीनका ठूला शहरसँगै साना शहर तथा काउन्टीहरूमा पनि उल्लेखनीय प्रदर्शन गरेको छ। बेइजिङ चलचित्र प्रतिष्ठानकी सहप्राध्यापक वेङ याङले विभिन्न उमेर र क्षेत्रका दर्शक आकर्षित हुनुमा यसको अन्तरक्षेत्रीय प्रचार रणनीतिले भूमिका खेलेको बताएकी छन्। चलचित्रको टिकटसँगै ‘ब्लाइन्ड बक्स’ उपलब्ध गराउने तथा स्थानीय अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी हस्तकलाको प्रदर्शन गर्ने रणनीतिले चलचित्र र परम्परागत संस्कृतिबीच प्रभावकारी सम्बन्ध बनाएको उनको विश्लेषण छ।
दृश्य निर्माणमा चलचित्रले पूर्वीय सौन्दर्यशास्त्र र आधुनिक एनिमेसन प्रविधिको संयोजन गरेको छ। निर्माता छाओ लिनलिनका अनुसार निर्माण टोलीले शान्सीको योङले दरबार र सिचुवानको छिङछङ पर्वतसहित चीनका विभिन्न सांस्कृतिक तथा ऐतिहासिक स्थलमा स्थलगत अध्ययन गरेको थियो।
चलचित्रमा प्राचीन भित्तेचित्रबाट प्रेरित माछाले तानेका रथ देखाइएको छ। यसको रङ संयोजनमा चिनियाँ नयाँ वर्षका परम्परागत चित्रकला र लोककलाको प्रभाव प्रयोग गरिएको छ। फङलाईका पर्वत, बादलमाथिका दरबार र विशाल कछुवाले बोकेको टापुजस्ता दृश्य निर्माणमा प्राचीन चिनियाँ ग्रन्थ र कलात्मक कल्पनाबाट प्रेरणा लिइएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा सिचुवानको स्थानीय संस्कृति र कलात्मक पहिचान पनि व्यापक रूपमा समावेश गरिएको छ। चलचित्र निर्माण भएको छङ्तु उच्च प्रविधि औद्योगिक विकास क्षेत्र चीनको डिजिटल संस्कृति तथा सिर्जनात्मक उद्योगको प्रमुख केन्द्रमध्ये एक हो। ‘न चा’ चलचित्र श्रृंखला र ‘अनर अफ किङ्स’ खेलसमेत विकास भएको उक्त क्षेत्रमा अहिले छ हजारभन्दा बढी डिजिटल सांस्कृतिक कम्पनी सञ्चालनमा छन्।
सन् २०२५ मा सिचुवानको मुख्य डिजिटल सांस्कृतिक तथा सिर्जनात्मक उद्योगको आम्दानी ४१३.९७ अर्ब युआन पुगेको थियो। चिनियाँ शैलीका एनिमेसन, भिडियो खेल, ई–स्पोर्ट्स र सिर्जनात्मक डिजाइनलाई समेट्दै प्रान्तले बहुआयामिक औद्योगिक संरचना विकास गरेको सिन्ह्वाले जनाएको छ।
चलचित्र क्षेत्रका विज्ञहरूले ‘अल विशेज कम ट्रु!’ को सफलतालाई चीनको एनिमेसन उद्योग परिपक्व हुँदै गएको सङ्केतका रूपमा हेरेका छन्। पछिल्लो एक दशकमा चिनियाँ लोककथा र मिथकमा आधारित चलचित्रहरूको सफलतासँगै मौलिक सांस्कृतिक बौद्धिक सम्पत्तिको विकास, उत्पादन क्षमता र घरेलु बजार अझ व्यवस्थित भएको उनीहरूको विश्लेषण छ।
चलचित्र अगस्टदेखि अस्ट्रेलिया, न्युजिल्याण्ड, उत्तर अमेरिका, बेलायत र युरोपका विभिन्न देशमा प्रदर्शन गरिनेछ। अन्तर्राष्ट्रिय बजारमा कथाको मूल भाव बुझ्न सजिलो होस् भनेर चिनियाँ शीर्षकको प्रत्यक्ष अनुवाद नगरी ‘अल विशेज कम ट्रु!’ नाम दिइएको निर्माण पक्षले जनाएको छ।
निर्देशक मौका अनुसार प्रविधि अब चिनियाँ एनिमेसनको प्रमुख अवरोध रहेन। चिनियाँ र पश्चिमा एनिमेसनबीचको मुख्य अन्तर प्राविधिक क्षमताभन्दा सांस्कृतिक अभिव्यक्तिमा रहेको उल्लेख गर्दै उनले समान कथात्मक संरचनाभित्र पनि स्थानीय सिर्जनाकर्ताले मात्र आफ्नो संस्कृतिका प्रामाणिक कथा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने बताएका छन्।





