१९ भाद्र २०८३, शुक्रबार

गैरकानुनी आवासीय भिसा प्रकरणमा कर्मचारी र अमेरिकी नागरिकविरुद्ध मुद्दा

ड्रागन मिडिया समाचार कक्ष

अध्यागमन विभागको सूचना प्रणाली दुरुपयोग गरी अमेरिकी नागरिकलाई गैरकानुनी रूपमा आवासीय भिसा उपलब्ध गराएको अभियोगमा दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर तथा वरिष्ठ अध्यागमन सहायक राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध सोमबार आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार महतोले अध्यागमन सूचना प्रणाली ‘नेपाली पोर्ट’मा रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधाको दुरुपयोग गरेका थिए। उनले लक्जेम्बर्गका नागरिक पल क्रिस्चियन पियरे गेडिट्जको नाममा जारी भएको आवासीय भिसासम्बन्धी अभिलेखलाई अमेरिकी नागरिक रोबिन्सनको नाममा एकीकृत गरी भिसा प्रिन्ट गरेको अख्तियारको आरोप छ।

कानुनबमोजिम आवासीय भिसा प्राप्त गर्न अयोग्य रहेका रोबिन्सनलाई आवश्यक प्रक्रिया पूरा नगरी, अधिकारप्राप्त अधिकारीको निर्णयबिना र तोकिएको राजस्वसमेत दाखिला नगरी २०८० फागुन ९ गते उक्त भिसा उपलब्ध गराइएको आयोगले जनाएको छ।

कीर्ते गरी तयार पारिएको भिसा रोबिन्सनको राहदानीमा टाँसिएको र उनले त्यसैका आधारमा नेपालमा बसोबास गरेको अनुसन्धानबाट देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

सरकारी अभिलेख यथार्थ अवस्थामा राख्नुपर्ने कर्तव्यविपरीत महतोले सूचना प्रणाली दुरुपयोग गरी अभिलेख सच्याउने, केरमेट गर्ने, थपघट गर्ने तथा हेरफेर गरेर नेपाल सरकार र अध्यागमन विभागलाई हानि पुर्‍याएको आयोगको आरोप छ।

महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

रोबिन्सनले राष्ट्रसेवक कर्मचारीलाई नगद, जिन्सी वा अन्य सुविधा उपलब्ध गराई आफूले गैरकानुनी लाभ लिने उद्देश्यले भ्रष्टाचारजन्य कार्यमा मतियारको भूमिका निर्वाह गरेको आयोगको आरोप छ। उनीविरुद्ध सोही ऐनको दफा २२ अनुसार मुख्य कसुरदारसरह कैद र जरिवाना माग गरिएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै जनाविरुद्धको आरोपपत्र काठमाडौँस्थित विशेष अदालतमा दायर गरिएको हो। आरोपपत्रमा लगाइएका अभियोगबारे अन्तिम निर्णय अदालतबाट हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button