१९ भाद्र २०८३, शुक्रबार

देवानगञ्ज घटनामा मानव अधिकार आयोगले अनुसन्धान थाल्यो

ड्रागन मिडिया समाचार कक्ष

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप र सुरक्षाकर्मीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालयको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। टोलीले सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन, स्थानीयवासी तथा अन्य सरोकारवालासँग घटनाबारे जानकारी लिइरहेको छ।

आयोगका अनुसार केही दिनअघि गाउँपालिकाले निर्माण गरेको सोलार बत्तीको पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद शुरु भएको थियो। आइतबार राति डिजे बजाउने विषयमा विवाद उत्कर्षमा पुगेपछि तोडफोड र झडप भएको प्रारम्भिक अनुगमनबाट देखिएको छ।

स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको आयोगले जनाएको छ। गोली लागेका नौ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ।

घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। आयोगको टोलीले घाइतेहरूको अवस्था, उपचारको व्यवस्था तथा घटनामा प्रयोग भएको बलको परिस्थितिबारे पनि जानकारी सङ्कलन गरिरहेको छ।

आयोगले घटनाको वास्तविक कारण, सुरक्षा निकायले अपनाएको भिड नियन्त्रणको प्रक्रिया, गोली चलाउनुपर्ने अवस्था र त्यसबाट भएको मानवीय क्षतिबारे थप अनुसन्धान गर्ने जनाएको छ।

धार्मिक तथा सामुदायिक सद्भावमा असर पार्ने गतिविधि नगर्न आग्रह गर्दै आयोगले सबै पक्षलाई संयम अपनाउन, संवादमार्फत समस्या समाधान गर्न र शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आह्वान गरेको छ।

आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, घाइतेहरूको प्रभावकारी उपचार गर्न तथा पीडित परिवारलाई आवश्यक राहत र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button