२० भाद्र २०८३, शनिबार

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न आङदेम्बेको माग

ड्रागन मिडिया समाचार कक्ष

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेका छन्।

आङदेम्बेले सार्वजनिक गरेको वक्तव्यमा जिल्लामा शान्ति–सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको उल्लेख गर्दै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने र गृहमन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताएका छन्।

उनले संवेदनशील अवस्थामा सबै पक्षले उच्चतम संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्। हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने उल्लेख गर्दै उनले दुवै समुदायलाई शान्त रहन, सहिष्णुता कायम गर्न र आपसी सद्भाव जोगाउन आग्रह गरेका छन्।

“सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्छ,” आङदेम्बेले भनेका छन्, “सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्छ।”

शान्ति–सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको दोहोर्‍याउँदै उनले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र गृहमन्त्रीले यसको स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

पछिल्लो समय सरकारप्रति नागरिकमा तीव्र असन्तोष बढिरहेको दाबी गर्दै आङदेम्बेले समाजमा शान्ति, सुरक्षा र सहिष्णुतासँग सम्बन्धित संवेदनशील घटना बारम्बार दोहोरिनुले सरकार जिम्मेवारी निर्वाह गर्न चुकेको देखिएको बताएका छन्।

उनले जिम्मेवार पदमा रहेका व्यक्ति तथा सार्वजनिक प्रभाव भएका व्यक्तिले यस्तो संवेदनशील अवस्थामा सामाजिक सञ्जालमार्फत असहिष्णुता, उत्तेजना वा सामुदायिक अविश्वास फैलाउने गतिविधि गर्न नहुनेमा जोड दिएका छन्।

शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै आङदेम्बेले कुनै उक्साहट वा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। उनले विवादको समाधान संवाद, सहिष्णुता, आपसी सम्मान र कानुनी प्रक्रियामार्फत खोज्न सबै पक्षलाई आह्वान गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button